'फेस अफ नेपाल' को तेस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजक एमएस प्रोडक्सन प्रालिले बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै 'फेस अफ नेपाल-२०२६'को आवेदन खुला भएको जानकारी दिएको हो।
अन्तर्राष्ट्रिय मोडलिङ मञ्चमा नेपाली प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका पुरूष तथा महिला सहभागी हुन सक्नेछन्।
इच्छुकले फेस अफ नेपालको आधिकारिक सामाजिक सञ्जाल पेज तथा आधिकारिक भोटिङ पार्टनर एभेन्टोजमार्फत आवेदन दिन सक्नेछन्। आवेदनका लागि एक हजार रूपैयाँ दर्ता शुल्क लाग्नेछ भने छनोट भएका प्रतियोगीले १५ हजार रूपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जसमा आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता र मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ। सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ र स्टेज प्रस्तुति सम्बन्धी विभिन्न व्यावसायिक तालिमसमेत प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो चरणको अडिसन यही असार २७ गते (११ जुलाई) हुने तय भएको छ। आयोजकका अनुसार यस वर्षको ग्रान्ड फिनाले आगामी भदौ १४ गते (३० अगस्ट) काठमाडौंमा आयोजना हुनेछ। प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने जनाइएको छ।
प्रतियोगिताकी राष्ट्रिय निर्देशक तथा अभिनेत्री मेनुका माझीले 'फेस अफ नेपाल' नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर भएको बताइन्। उनका अनुसार प्रतियोगिताले आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिने भएकाले सहभागीका लागि कुनै उचाइको मापदण्ड राखिएको छैन।
मेनुका यतिबेला आगामी २९ साउनदेखि प्रदर्शनमा आउन लागेको फिल्म 'लज्जावती'को प्रचार-प्रसारमा पनि व्यस्त छिन्। उनी यो फिल्मकी अभिनेत्री हुन्।
अभिनयसँगै नयाँ प्रतिभाको खोजी र क्षमता विकासका लागि भन्दै 'फेस अफ नेपाल'मार्फत सक्रिय रूपमा काम गरिरहेकी छन्।
