नेपाली फिल्म 'तिनीहरू' (एलिफेन्ट्स इन द फग) को टोलीलाई अस्कर कलेजले सम्मान गरेको छ।
यो फिल्मले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको यस वर्षको ७९ औं संस्करणको 'अन सर्टेन रिगार्ड' खण्डमा उत्कृष्ट जुरी पुरस्कारसहित उत्कृष्ट ध्वनि सिर्जना पुरस्कार जित्न सफल भएको थियो।
आयोजित कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह, निर्माता अनुप पौडेलसहित करिब दुई दर्जन सदस्यलाई कलेजको साधना घरमा आयोजित विशेष समारोहमा सम्मानपत्र प्रदान गर्दै केक काटेर सम्मान प्रकट गरिएको थियो। कार्यक्रममा सहभागी एक सयभन्दा बढी दर्शक तथा विद्यार्थीले कान्स फिल्म फेस्टिभलकै झल्को दिने गरी निर्देशक शाह र उनको टोलीलाई सम्मान प्रकट गर्दै झन्डै दुई मिनेटसम्म ‘स्ट्यान्डिङ ओभेशन’ दिएका थिए।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा निर्देशक नविन सुब्बा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। सम्मानित टोलीलाई बधाई दिँदै निर्देशक सुब्बाले ‘तिनीहरू’ले नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याएको बताए।
उनले अबको चुनौती हरेक वर्ष कम्तीमा केही नेपाली फिल्मले अन्तर्राष्ट्रिय मञ्चमा यस्तै उपस्थिति र उपलब्धि हासिल गर्नुपर्ने रहेको धारणा व्यक्त गरे। साथै, संघीय संसद्मा विचाराधीन चलचित्र विधेयकले यस्ता उपलब्धिबाट प्रेरित युवा फिल्मकर्मीलाई विशेष रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रममा निर्देशक अविनाशविक्रम शाह र निर्माता अनुप पौडेलसँग अन्तर्क्रियासमेत भएको थियो।
नेपाली फिल्मको ऐतिहासिक उपलब्धि तथा अस्कर कलेजका विद्यार्थीको सफलताको सम्मान र खुसीयाली साटासाट गर्न उक्त कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ।
कार्यक्रममा उपस्थित विद्यार्थी, शुभेच्छुक तथा दर्शकहरूले ‘तिनीहरू’ले हासिल गरेको अभूतपूर्व अन्तर्राष्ट्रिय सफलताप्रति एकाकार हुँदै उत्सव मनाएका थिए।
'तिनीहरू' (एलिफेन्ट्स इन द फग) आगामी भदौ १९ (४ सेप्टेम्बर) देखि नेपालभर सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ।
