अभिनेता पारस बम ठकुरी (कुलब्वाय) र अभिनेत्री दिव्या रायमाझीको शीर्ष अभिनय रहेको फिल्म 'बेहुली' भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। फिल्म आगामी हरितालिका तीजको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउन लागेको हो।
सार्वजनिक पोस्टरले गहिरो, संवेदनशील र विद्रोही प्रेमकथाको संकेत गर्छ। पोस्टरमा कुलब्वाय गम्भीर भावमा देखिएका छन्। उनको अनुहारमा सामान्य चोटका निशान छन् भने नाडीमा हतकडी छ। अर्कोतर्फ, रातो विवाह पहिरन र गहनामा सजिएकी दिव्या आँखा चिम्लिएर पारसको छातीमा टाउको अड्याएकी छन्।
हतकडी लागेको युवकलाई नवदुलहीले गरेको भावनात्मक आलिगंनले फिल्मभित्र कुनै गम्भीर सामाजिक वा पारिवारिक द्वन्द्वको बीचमा हुर्किएको सशक्त प्रेमकथा लुकेको संकेत गर्छ। श्रीधर पौडेलले खिचेको उक्त तस्बिरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले पोस्टरको स्वरूप दिएका हुन्।
पोस्टर सार्वजनिक कार्यक्रममा मुख्य कलाकारद्वय पारस र दिव्या पोस्टरकै दृश्यलाई जीवन्त बनाउँदै मिडियासामु प्रस्तुत भएका थिए। दिव्या दुलहीको पहिरनमा सजिएकी थिइन् भने पारसको हातमा हतकडी थियो। मञ्चमै उनीहरूले एकअर्काप्रति प्रेमिल भाव व्यक्त गरेका थिए। 'द डिभाइन म्युजिक' र 'सम्मान इन्टरटेन्मेन्ट'को ब्यानरमा निर्माण भएको यो फिल्ममा कुल ब्वाय र दिव्यासँगै सुशान्त कार्कीको पनि प्रमुख भूमिका छ।
'होस्टेल ३'बाट ठूलो पर्दामा डेब्यु गरेका कुल ब्वायको 'बेहुली' दोस्रो फिल्म हो। पहिलो फिल्मबाटै लोकप्रिय बनेका उनी यसपटक परिपक्व र गम्भीर प्रेमकथामा देखिँदै छन्।
यता, 'एक्टर टेक वान'बाट अभिनय यात्रा सुरू गरेकी दिव्या रायमाझीको यो चौथो फिल्म हो। कुल ब्वाय र दिव्याको नयाँ अनस्क्रिन केमेस्ट्री कस्तो रहनेछ भन्ने उत्सुकता दर्शकमाझ पहिल्यैदेखि छ।
निर्माण पक्षले तीजको उल्लासमय वातावरण र ‘बेहुली’को मर्मस्पर्शी कथाबीचको संयोजनले दर्शकलाई फरक सिनेम्याटिक अनुभव दिने विश्वास लिएको छ।
'होस्टेल ३'मै सहकार्य गरेका सशान कँडेल र माधव शर्माको जोडीले 'बेहुली'लाई आकार दिएका हुन्। माधव शर्माको रहेको फिल्म सशान कँडेलले निर्देशन गरेका हुन्। सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा योगेन्द्र कार्की र मार्लोभ ढुंगानाले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।
फिल्ममा कुल ब्वाय, दिव्या र सुशान्तसहित पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारहरूको अभिनय छ। प्राविधिक पक्षतर्फ नरेन्द्र मैनालीको क्यामेरा, विकास दाहालको सम्पादन र रोशन श्रेष्ठको एक्सन कोरियोग्राफी छ।
चर्चित संगीतकार अर्जुन पोखरेलले निर्माण गरेको फिल्मको निर्मातामा प्रताप शमशेर राणा छन्। कार्यकारी निर्मातामा शंशर कोइराला र रमेश सिलवाल, सह-निर्माता दुर्गा खरेल र शिशिर श्रेष्ठ छन् भने कोसिस राज क्षेत्री र सम्राट क्षेत्री लाइन प्रोड्युसर हुन्।
यमप्रसाद ओली प्रोडक्सन हेड रहेको फिल्ममा किशोर नेपालको प्रोडक्सन डिजाइन, राजु वाइबाको मेकअप र एलेक्स बासुकलाको पहिरन डिजाइन छ। फिल्मलाई काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।
डिजिटल प्रदर्शन अधिकार भने ओएसआर डिजिटलले खरिद गरिसकेको छ।

