भदौ १९ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'बाः एक योद्धा'को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरहरूले फिल्मको पारिवारिक कथा र त्यसमा आउने संघर्षको झल्को दिएका छन्।
एक पोस्टरमा दिव्यदेव पन्त, झरना थापा, सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मालाई खुसी परिवारका रूपमा देखाइएको छ। दोस्रो पोस्टरमा भने झरना, सुहाना, दिव्यदेव, अनिल बुढाथोकी र माओत्से गुरूङ तनावपूर्ण भावमा प्रस्तुत छन्, जसले सुखी परिवारमा आउने अप्रत्याशित घटनाको संकेत गर्छ।
निर्माण पक्षका अनुसार फिल्मले नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीको कथा प्रस्तुत गर्नेछ।
हरि लम्सालको निर्देशन रहेको फिल्ममा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा हरि लम्सालकै लेखन छ भने फिल्मका निर्माता वसन्त लम्साल हुन्।
मित्र डि. गुरूङको सम्पादन रहने फिल्म शिवराम श्रेष्ठले छायांकन गरेका हुन्।
'बाः एक योद्धा' भदौ १९ गते, कुशे औंसी (बुबाको मुख हेर्ने दिन) को पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ।