चर्चित टेलिभिजन रियालिटी शो 'कमेडी च्याम्पियन'को चौथो सिजनका निर्णायक (जज) तय भएका छन्। यसपटक शोले निर्णायकको संख्या घटाएर तीन जनामा सीमित गरेको छ।
विश्वसनीय स्रोतका अनुसार चौथो सिजनमा हास्य कलाकार तथा अभिनेता जितु नेपाल, अभिनेत्री ऋचा शर्मा र निर्देशक विशाल भण्डारी निर्णायकको भूमिकामा रहनेछन्। अघिल्ला तीनै संस्करणमा निर्णायक रहेकी ऋचा यसपटक पनि निरन्तरता पाउने एकमात्र सदस्य हुन्। जितु र विशाल जजका रूपमा जोडिएका छन्।
यद्यपि, शो निर्माण टिमले निर्णायकको नाम औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन।
आगामी साता पत्रकार सम्मेलनमार्फत चौथो सिजनबारे विस्तृत जानकारीसहित निर्णायकको औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ।
निर्माण टिमले यस संस्करणमा दर्शकलाई नयाँपन र ताजापन दिने उद्देश्यका साथ केही महत्वपूर्ण परिवर्तन गरेको बताइएको छ।
यसअघि नै चौथो सिजनका होस्टको घोषणा भइसकेको छ। शोमा कमेडियन मेक्सम गौडेल र पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्टको जिम्मेवारी सम्हाल्नेछन्।
शोको अडिसन छायांकन बुधबारदेखि मुलपानीस्थित सेटमा सुरू हुने तयारी छ।
'कमेडी च्याम्पियन'को चौथो सिजन साउनको पहिलो सातादेखि प्रसारण गर्ने तयारी गरिएको छ।