अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला आफ्नो ब्यानरका फिल्ममा मात्र सीमित छैनन्। उनी बाहिरी ब्यानरमा फिल्ममा पनि निरन्तर व्यस्त छिन्।
यसैक्रममा आगामी भदौ १२ गते प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म 'पार्वती'को डबिङ पूरा गर्दै उनले फिल्म आफूले सोचेभन्दा पनि उत्कृष्ट बनेको प्रतिक्रिया दिएकी छन्।
डबिङका क्रममा दीपाश्रीले ‘पार्वती’को फरक शैली, मन छुने कथा र पटकथाले छोएको उनले बताइन्। हाल फिल्मको डबिङ कार्य धमाधम भइरहेको छ भने दीपाश्रीले आफ्नो भागको डबिङ सम्पन्न गरिसकेकी छन्।
फिल्मकी कथाकार तथा निर्देशक नीता ढुंगाना अधिकारी पनि डबिङ प्रक्रियाप्रति उत्साहित देखिएकी छन्। आफूले कल्पना गरेभन्दा राम्रो फिल्म बनेको उल्लेख गर्दै उनले दीपाश्रीसहित सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेकी छन्।
'नीता फिल्मस्' को ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक नीता स्वयंका साथै दीपाश्री निरौला, अशोक दर्जी, सिरू बिष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
हरिहर अधिकारी निर्माता रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको भूमिकामा छन्। फिल्ममा सुदीप बरालको छायांकन, साहिल खानको सम्पादन र रोयल भिमसेनको पोस्टर डिजाइन रहेको छ।
दीपाश्रीको होम प्रोडक्सनको फिल्म 'छ माया छपक्कै २' यसै वर्षको दसैंमा प्रदर्शनको तयारीमा छ। 'आमा सरस्वती मुभिज' र 'रोहित अधिकारी फिल्म्स'को ब्यानरमा निर्माण भएको 'छ माया छपक्कै २' को छायांकन अन्तिम चरणमा पुगेको बताइएको छ।
यो फिल्ममा उनको अभिनय रहने/नरहने खुलाइएको छैन।