कमेडियन सुमन कोइराला र प्रभात लामाले फिल्ममा डेब्यू गर्ने भएका छन्।
यी दुई लोकप्रिय कमेडियनले कमेडी जनरामै निर्माण हुन लागेका फिल्ममा शीर्ष भूमिकामा अभिनय गर्न लागेका हुन्।
'दले दाइ' नामले चर्चित कमेडियन सुमनले 'तिरिमिरी झ्याइँ' बाट फिल्म अभिनयमा डेब्यू गर्ने भएका हुन्।
त्यस्तै, रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको 'तीन तीघ्रे क्या बिग्रे' मा प्रभात लामा मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
होराइजन मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको हास्यव्यङ्गात्मक फिल्म 'तिरिमिरी झ्याइँ' को बिहीबारमात्रै शुभमुहूर्त गरिएको हो। यसको छायांकन यही असार २९ गतेबाट सुरू गर्ने तयारी छ।
आभास अधिकारीको कथा तथा कन्सेप्टमा बन्ने फिल्मलाई समीरले निर्देशन गर्दैछन्। फिल्ममा धिरेन शाक्य, आभास अधिकारी, सरोज अर्याल, रेअर राई, सुरज चौलागाईंलगायत कलाकारहरूको पनि अभिनय रहनेछ। निर्माता प्रद्युम्न बोगटी (प्रबिन) हुन्।
यस्तै, प्रभात 'तीन तीघ्रे क्या बिग्रे' मार्फत पहिलो पटक अभिनेताका रूपमा देखिन लागेका हुन्। उनी टेलिभिजन, डिजिटल प्लेटफर्म र विभिन्न मञ्चबाट लोकप्रिय बनेका कलाकार हुन्। 'तीन तीघ्रे क्या बिग्रे' मा अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने छ।
यही सातादेखि छायांकन सुरू गर्ने तयारी रहेको यो फिल्ममा यसअघि नै पशुपति शर्मा, परितोषिका पन्त र समिया कार्की अनुबन्धित भइसकेका छन्।

