अभिनेता राजेश हमालले कुनै पनि सरकारको पहिलो सय दिनको मूल्यांकन केवल घोषणा वा प्रतिबद्धताका आधारमा नभई जनताले अनुभूत गरेका परिणामका आधारमा हुनुपर्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले सरकारको कार्यसम्पादन, राष्ट्रिय हित, लोकतन्त्र, युवा आन्दोलन र विधिको शासनबारे आफ्नो धारणा साझा गरेका हुन्।
बालेन शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा भएको केही दिनपछि राजेशको यस्तो धारणा आएको हो।
अहिले नेपाली जनताले भाषणभन्दा बढी जबाफदेहिता, रोजगारी, न्याय र सुशासनको अपेक्षा गरेको उनले उल्लेख गरेका छन्।
राष्ट्रिय हितका विषयमा उनले बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा नेपालले स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताएका छन्।
'हामी सबैसँग मित्रताको हात बढाऔं, तर कुनै पनि शक्तिको प्रभावले हाम्रो सार्वभौमिकता र स्वतन्त्र निर्णय क्षमतालाई ओझेलमा पार्न नदिऔं,' राजेशले लेखेका छन्।
उनले नेपाल राष्ट्रिय हितबाट निर्देशित हुनुपर्ने बताएका छन्। हालैको युवा आन्दोलनबारे पनि उनले टिप्पणी गरेका छन्।
राजेशले लेखेका छन्, 'हालैको युवा आन्दोलनले जनताभित्र रहेको वास्तविक असन्तुष्टि र परिवर्तनको आकांक्षालाई उजागर गरेको छ। शान्तिपूर्ण विरोध लोकतन्त्रको प्राण हो, तर हिंसा र आगजनी लोकतन्त्रको भाषा हुन सक्दैन।'
उनले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्नेहरू सम्मानका पात्र भएको तर अपराध गर्ने जोसुकै भएपनि निष्पक्ष रूपमा कानुनी दायरामा ल्याइनुपर्ने बताएका छन्।
राजेशले राष्ट्रको वास्तविक शक्ति संस्थाहरूलाई सबल बनाउनुमा, विधिको शासनलाई सुदृढ गर्नुमा र दलगत राजनीतिभन्दा माथि नेपाललाई राख्न सक्नुमा निहित हुने उल्लेख गरेका छन्। उनले सबैलाई एकताबद्ध भएर विवेकपूर्ण समाज निर्माणमा लाग्न आह्वान गरेका छन्।
उनले अगाडि लेखेका छन्, 'आउनुहोस्, हामी विवेकशील बनौं, एकताबद्ध रहौं। र, यस्तो नेपालको निर्माणमा समर्पित बनौं जहाँ विभाजनमाथि विवेकको विजय होस्, र जहाँ कुनै पनि राजनीतिक विचारधाराप्रतिको निष्ठाभन्दा नेपालप्रतिको हाम्रो प्रेम अझ महान् होस्।'