नेपाली फिल्म 'आशा' निर्माण हुने भएको छ। उडान स्टुडियोको ब्यानरमा निर्माण हुन लागेको फिल्मको बिहीबार काठमाडौंमा आयोजित एक समारोहबीच घोषणा गरिएको हो।
शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको निर्देशन राजिव गुरूङले गर्नेछन्। अग्रज प्राविधिकलाई सम्मान गर्दै आयोजित कार्यक्रममा फिल्मको विषयवस्तु, कलाकार तथा प्राविधिक टोलीको औपचारिक परिचय गराइएको थियो।
फिल्ममा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारहरूको अभिनय रहनेछ।
निर्मात्री शर्मिला थापाले 'आशा' पूर्ण रूपमा पारिवारिक कथामा आधारित फिल्म भएको बताइन्। उनका अनुसार अहिलेको व्यस्त जीवनशैलीमा परिवारसँग बिताउने समय घट्दै गएको यथार्थलाई फिल्मले संवेदनशील ढंगले प्रस्तुत गर्नेछ।
उनले भनिन्, 'आशा पूर्ण रूपमा पारिवारिक फिल्म हो। अहिले हामीसँग परिवारका लागि समय निकाल्न पनि फुर्सद हुँदैन। तर, परिवारमा कुनै सदस्यको अभाव हुँदा मात्रै उसको महत्व झन् गहिरोसँग महसुस हुन्छ। यो बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले हेर्न मिल्ने फिल्म हुनेछ। हामी आफ्नै कथा यति गर्वका साथ प्रस्तुत गर्न चाहन्छौं कि विदेशी दर्शकलाई पनि देखाउन सकियोस्।'
निर्देशक तथा कथाकार राजिव गुरुङले फिल्मले मनोरञ्जनसँगै अर्थपूर्ण सन्देश पनि दिने बताए। उनले मनदेखि नै तयार गरिएको कथालाई पर्दामार्फत दर्शक र परिवारसम्म पुर्याउने उद्देश्य रहेको उल्लेख गरे।
'यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म लैजानु पर्छ भन्ने लागेर नै फिल्ममा ल्याउँदैछौं। एउटा मनछुने पारिवारिक कथामा फिल्म तयार हुँदैछ, अहिले हामीले घोषणा गर्दैछौँ, यसको छायांकन सकिएपछि बाँकि जानकारी दिनेछौं,' उनले भने।
अभिनेता महेश त्रिपाठीले कथावस्तुका कारण आफू फिल्ममा आबद्ध भएको बताए। उनले भने, 'यसको कथा बनिरहेका भन्दा फरक छ, एउटा अभिनेतालाई राम्रो कथाको लोभ लाग्छ नै, त्यसैले यसमा जोडिएको छु । यो फिल्मले फिल्मका रुपमा दिने मनोरन्जनसँगै हामीलाई केही दिन्छ।'
कार्यक्रममा नेपाली फिल्म क्षेत्रका अग्रज प्राविधिक कमल मिश्रलाई नगद ५१ हजार रूपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’ मार्फत भेषभूषा विभागमा काम गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरूङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा सम्मान गरेका हुन्।
फिल्ममा रामकुमार श्रेष्ठ सह-लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन्।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक रामकुमार श्रेष्ठ, सहायक निर्देशक शान्ति तामाङ, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन्।