अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको स्वास्थ्य अवस्था स्थिर रहेको अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेसले जनाएको छ।
अस्पतालले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निरौलाको मस्तिष्कमा रहेको ट्युमरको असार २३ गते सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको र ट्युमर पूर्ण रूपमा निकालिएको जनाएको हो।
अस्पतालका अनुसार शल्यक्रियापछि उनमा कुनै नयाँ स्वास्थ्य समस्या देखिएको छैन। हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको र केही दिन अस्पतालमै राखेर विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार गरिने अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार ट्युमरको प्रकार तथा त्यसपछि आवश्यक पर्ने उपचारबारे परिवारलाई क्रमशः जानकारी गराइनेछ।
अस्पतालले उपचारका लागि स्वदेशकै स्वास्थ्य सेवामाथि विश्वास गरेको भन्दै निरौला र उनको परिवारप्रति आभार व्यक्त गरेको छ।
साथै, उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभेच्छुक, सञ्चारमाध्यम र आमजनसमुदायप्रति पनि धन्यवाद जनाएको छ।
फिल्म 'छ माया छपक्कै २' को सुटिङकै बीचमा दीपाश्री बिरामी परेकी थिइन्।
