प्रदर्शन तयारीमा रहेको फिल्म 'गौंथली' ले प्रिमियर शोमा प्रशंसा पाएको छ। सोमबार काठमाडौंमा आयोजित प्रिमियरमा फिल्म हेरेका कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले यसको खुलेर प्रशंसा गरेका हुन्।
प्रिमियरमा सहभागीहरूले २०६० सालअघि नेपाली ग्रामीण समाजमा धेरै महिलाले भोग्नुपरेका पारिवारिक र सामाजिक यथार्थलाई फिल्मले प्रभावकारी रूपमा चित्रण गरेको प्रतिक्रिया दिएका छन्।
विशेषगरी सासू-बुहारी सम्बन्धमा जानाजान वा अनजानमा हुने व्यवहार र त्यसले परिवार तथा व्यक्तिको जीवनमा पार्ने असरलाई फिल्मले मार्मिक ढंगले प्रस्तुत गरेको भन्दै निर्देशकको प्रशंसा गरिएको छ।
फिल्म हेर्नेहरूले सुरूदेखि अन्त्यसम्म आफूहरूलाई बाँधेर राखेको प्रतिक्रिया दिए। करिब २ घण्टा २० मिनेट लामो फिल्म कतै पनि बोझिलो नलाग्ने र कथावस्तुको प्रवाहले दर्शकलाई अन्तिमसम्म आकर्षित गरिराख्ने उनीहरूको भनाइ छ।
केही समयअघिको नेपाली समाजको वास्तविकतालाई जीवन्त रूपमा पर्दामा उतारेर नयाँ पुस्ताका दर्शकमाझ पुर्याएको भन्दै फिल्मका लेखक तथा निर्देशक डा. कपिल रिजालको पनि खुलेर प्रशंसा गरिएको छ।
प्रिमियमा फिल्म हेर्नेहरूले मुख्य कलाकार अरूण क्षेत्री र सिम्रन खड्काको अभिनयको पनि तारिफ गरेका छन्।
अटिजम भएका पात्रको भूमिकामा देखिएका अरूण र बुहारीको भूमिकामा रहेकी सिम्रनले प्रभावशाली अभिनय गरेको भन्दै प्रिमियरमा उपस्थित अधिकांशले उनीहरूको प्रशंसा गरेका हुन्।
प्रिमियरमा अग्रजदेखि नयाँ पुस्तासम्मका कलाकार तथा फिल्मकर्मीको उपस्थिति रहेको थियो। फिल्मको टिमसहित कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, रवि डंगोल, जितु नेपाल, निर्देशक मिलन चाम्स, दिवाकर भट्टराई, निर्माता रोहित अधिकारी, पत्रकार प्रकाश सुवेदी, गायिका देवीका बन्दना, शान्तिश्री परियार, गायक थानेश्वर गौतमलगायत थुप्रै परिचित व्यक्तित्व प्रिमियरमा सहभागी थिए।
प्रिमियरमा फिल्म हेर्नेहरूले तत्कालीन नेपाली समाजको वास्तविक अनुहारलाई इमानदार ढंगले प्रस्तुत गरिएकाले दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।
यसैबीच, फिल्मको अग्रिम टिकट बुकिङ पनि खुल्न थालेको छ। देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले आफ्ना हलमा ‘गौंथली’को शो तालिका सार्वजनिक गर्दै अग्रिम बुकिङ खुला गरेको छ।
त्यसैगरी वान सिनेमाजलगायत अन्य मल्टिप्लेक्सहरूले पनि फिल्मको अग्रिम बुकिङ खुलाइसकेका छन्। डा. कपिल रिजालको निर्देशनमा बनेको 'गौंथली' साउन १ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदै छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्ममा अरूण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन। इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माताका रूपमा आबद्ध छन्।
डा. भोला रिजालको कथामा रहेको फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा लेखेका हुन्।
गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको चलचित्रमा हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन छ।
तस्बिरहरूः विवेक बस्याल







