अभिनेत्री सनिशा भट्टराई फिल्म 'शुभ विवाह'मा अनुबन्ध भएकी छन्। उनी फिल्ममा अभिनेता प्रदीप खड्काको जोडीका रूपमा देखिन लागेकी हुन्।
प्राप्त जानकारीअनुसार उनी र निर्देशक सुदर्शन थापाबीच लिखित सम्झौता भइसकेको छ। यद्यपि, निर्माण पक्षले भने फिल्ममा उनको प्रवेशबारे औपचारिक घोषणा गरिसकेको छैन।
स्रोतका अनुसार सनिशाले केही सातअघि नै फिल्म साइन गरेकी हुन्। अहिले कलाकारहरूको वर्कसप समेत चलिरहेको बताइएको छ।
निर्माण टिमले साउनभित्र औपचारिक कार्यक्रम आयोजना गर्दै कलाकारसहित फिल्मबारे औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतको भनाइ छ। लभस्टोरी फिल्म निर्देशनमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा दुई वर्षपछि निर्देशनमा फर्किन लागेका हुन्। उनले आगामी भदौबाट फिल्म 'शुभ विवाह'को छायांकन गर्ने तयारी गरेका छन्।
यो फिल्ममार्फत सुदर्शन र प्रदीपले करिब एक दशकपछि पुनः सहकार्य गर्न लागेका हुन्। यसअघि उनीहरूको सहकार्यमा बनेको 'प्रेमगीत' व्यावसायिक रूपमा सफल हुनुका साथै दर्शकमाझ अत्यधिक रूचाइएको थियो। त्यसैले 'शुभ विवाह'लाई लिएर पनि अहिलेबाटै उच्च चासो देखिन्छ।
फिल्ममा प्रदीप खड्का अनुबन्ध भएको खबर भने यसअघि नै सार्वजनिक भइसकेको थियो।
म्युजिक भिडिओबाट अभिनय यात्रा सुरू गरेकी सनिशाले फिल्म '१२ गाउँ'बाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी थिइन्। उनको पहिलो फिल्म नै सुपरहिट बनेको थियो। त्यसपछि उनको अभिनय रहेको 'नरसिंहा अवतार' प्रदर्शनमा आइसकेको छ।
'शुभ विवाह' सनिशाको करिअरको पाँचौं फिल्म हुनेछ। उनले दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छ माया छपक्कै २'को छायांकन सम्पन्न गरिसकेकी छिन्। त्यस्तै, विजय बरालसँग फिल्म 'जिरो डिग्री'मा पनि अभिनय गरिरहेकी छन्।
'छ माया छपक्कै २' आउँदो दसैं र 'जिरो डिग्री' तिहारमा प्रदर्शन हुने तयारी छ।