ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिसहितका ८ वटा स्क्रिनसहित शुक्रबारदेखि पुनः सञ्चालनमा आएको छ।
वि.सं. २०५२ सालमा स्थापना भएको गुण सिनेमा करिब २७ वर्षसम्म निरन्तर सञ्चालनमा रहेको थियो। नयाँ भवन निर्माणका लागि २०७९ सालमा हल बन्द गरिएको थियो।
अहिले चार वर्षपछि अत्याधुनिक सुविधासहित नयाँ स्वरूपमा हल सञ्चालनमा आएको हो। बिहीबार साँझ आयोजित कार्यक्रममा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही वर्ष दर्शकले असुविधा भोग्नुपरेको बताउँदै अब थप सुविधा र एक अतिरिक्त स्क्रिनसहित सञ्चालनमा आएको बताए।
'नयाँ भवन निर्माणका लागि हल बन्द गर्नु परेकाले धेरै दर्शकले फिल्म हेर्न असुविधा भोग्नुपर्यो,' उनले भने, 'अब हामी पहिलाभन्दा थप एक स्क्रिनसहित आएका छौं। दर्शकले आफ्नो रूचिअनुसारका नेपाली तथा विदेशी फिल्म रोजेर हेर्न सक्नुहुनेछ।'
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने गुण सिनेमामा ४१ देखि २६० सिट क्षमतासम्मका हल रहेका छन्।
अध्यक्ष शाक्यका अनुसार सिनेमामा जीडीसी सर्भर, पल्स र जेबीएल स्पिकर, डीटीएस–एक्स, एआईबी ३००० इमर्सिभ साउन्ड सिस्टम, बेल्जियममा निर्मित बार्को २ के लेजर प्रोजेक्टर तथा गाला लाइट सिल्भर स्क्रिन जडान गरिएको छ।
दर्शकको सुविधाका लागि प्रत्येक हलमा प्रिमियम सोफा सिट, पूर्ण एयर-कन्डिसन, आरामदायी तथा आकर्षक लबी निर्माण गरिएको छ। साथै, हिमालयन जाभा कफीसहित विभिन्न परिकार, स्न्याक्स तथा अन्य खाद्य सामग्रीको व्यवस्था पनि गरिएको छ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली फिल्म उद्योगको विकास, विस्तार र दर्शकको अभिरूचि अभिवृद्धिमा गुण सिनेमाले पुर्याएको योगदानको प्रशंसा गर्दै एकै छानामुनि अत्याधुनिक प्रविधिसहित ८ वटा हल सञ्चालनमा आउनु गर्वको विषय भएको बताए।
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले गुण सिनेमाको नयाँ स्वरूपले फिल्म बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
क्यूएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै गुण सिनेमा सधैं गुणस्तरीय सेवा र प्रविधिप्रति प्रतिबद्ध रहेको बताए।
यसअघि गुण सिनेमामा एकै छानामुनि ७ वटा स्क्रिन सञ्चालनमा थिए। काठमाडौं उपत्यकाका तीन जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीबाट समेत दर्शकहरू फिल्म हेर्न गुण सिनेमा पुग्ने गर्थे। त्यसका कारण नेपाली फिल्मले आम्दानीको ठूलो हिस्सा यो हलबाट गर्ने गरेको स्मरण गर्दै निर्माता छविराज ओझाले अब पुनः त्यो स्वर्णिम समय फर्किने विश्वास व्यक्त गरे।
गुण सिनेमा प्रालिले २०७९ वैशाखदेखि दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गर्दै आएको छ।
गुण सिनेमामा शुक्रबारदेखि नेपाली 'गौँथली', हिन्दी 'धमाल ४' र अंग्रेजी 'द ओडिसी' लगायतका फिल्म प्रदर्शनमा आएका छन्।

