'मिस युनिभर्स नेपाल २०२६' का लागि आधिकारिक रूपमा आवेदन खुला गरिएको छ।
ग्लोबल ग्ल्यामर भेन्चर्सले शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा 'दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६' को घोषणा गरेको हो।
त्योसँगै यस वर्षको प्रतियोगिताको आवेदन तथा अडिसन प्रक्रिया औपचारिक रूपमा सुरू भएको जनाएको हो।
आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो।
मिस युनिभर्स नेपालकी नेसनल डिरेक्टर संगीता पुरीले यस वर्षको प्रतियोगिताका लागि आफ्नो टिमले अघिल्ला संस्करणभन्दा अझ भव्य तयारी गरेको बताइन्। उनका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा काठमाडौंस्थित सोल्टी होटलमै आयोजना हुनेछ।
आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबि पुरीले यस वर्षको प्रतियोगितामा अविवाहित र विवाहित दुवै महिलाले सहभागिता जनाउन सक्ने जानकारी दिइन्। साथै, नेपालबाहिर रहेका गैरआवासीय नेपाली (एनआरएन) महिलाहरूले पनि प्रतियोगितामा सहभागी हुन पाउने उनले बताइन्।
मिस युनिभर्स नेपाल २०२५ मा सान्या अधिकारी विजेता बनेकी थिइन्। उनको कार्यकालपछि सुरू भएको नयाँ संस्करणले देश तथा विदेशमा रहेका महत्वाकांक्षी नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरेको आयोजकले जनाएको छ।
यस वर्षको प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन्।
आयोजकले 'के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ?' भन्ने प्रश्नसहित इच्छुक युवतीहरूलाई मुख्य प्रतिस्पर्धामा सहभागी हुन निमन्त्रणा दिएको छ। यस संस्करणमा व्यक्तिगत पहिचान, सामाजिक वकालत तथा नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई थप उचाइमा पुर्याउने लक्ष्य रहेको आयोजकको भनाइ छ।
यस वर्षको प्रतियोगिताको शीर्षक प्रायोजक (टाइटल स्पोन्सर) विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ। दिपलका सीईओ विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताए।
आयोजकका अनुसार आवेदन प्रक्रिया औपचारिक रूपमा खुलिसकेको छ।
इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन्।