आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म 'पेन्सन पट्टा' को मौलिक गीत सार्वजनिक गरिएको छ।
शुक्रबार पोखरामा आयोजित एक समारोहबीच ‘जुनी जाला’ बोलको गीत सार्वजनिक गरिएको हो।
पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा फिल्मको निर्माण टोली, कलाकार, गुरूङ समुदायका विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा चलचित्रकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सार्वजनिक गरिएको ‘जुनी जाला’ गीतले गुरूङ समुदायको मौलिक संस्कृति, भेषभूषा, संगीत र जीवनशैलीलाई प्रस्तुत गरेको छ। कार्यक्रममा प्रदर्शन गरिएको गीतलाई उपस्थित दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए।
गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत छ। राजबहादुर गुरूङ, सरून गुरूङ, उषा गुरूङ र प्रिया गुरूङले यसमा स्वर दिएका छन्।
भिडिओमा फिल्मका प्रमुख कलाकार दयाहाङ राई, गौमाया गुरूङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, माया गुरूङ, विश्वास गुरूङ, पशुपति राईलगायत कलाकारहरूले नृत्य प्रस्तुत गरेका छन्। यसको छायांकन कास्कीको रमणीय गाउँ ताङतिङमा गरिएको हो भने कोरियोग्राफी कमल गुरूङले गरेका हुन्।
फिल्मका लेखक तथा निर्देशक माओत्से गुरूङले ‘पेन्सन पट्टा’ गुरूङ समुदायको मौलिक जीवन, परम्परा र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको भए पनि यसको कथा सम्पूर्ण नेपाली दर्शकले आत्मसात् गर्न सक्ने विश्वास व्यक्त गरे। गुरूङ समुदायको परिवेशमा आधारित भए पनि फिल्मको भाव, कथा र सन्देश सबै समुदायका दर्शकलाई छुने गरी तयार गरिएको उनले बताए।
उनले सार्वजनिक गरिएको 'जुनी जाला' गीतले दर्शकको मन जित्ने विश्वास व्यक्त गर्दै फिल्मको सफलतामा यसले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा पनि व्यक्त गरे। गीत सार्वजनिक भएसँगै फिल्मको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाइने माओत्से गुरूङले जानकारी दिए।
निर्माता सपना गुरूङले फिल्मको कथावस्तुले आफूलाई गहिरो रूपमा प्रभावित पारेपछि लगानी गर्ने निर्णय गरेको बताइन्। समाजको यथार्थ चित्रण गर्ने विषयवस्तु भएकाले फिल्मप्रति आफ्नो विश्वास झन् बलियो बनेको उल्लेख गर्दै उनले मौलिक संस्कृति झल्काउने यस गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरिन्।
कार्यक्रममा गुरूङ समुदायसँग आबद्ध विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले ‘पेन्सन पट्टा’ले गुरूङ समुदायको भाषा, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
'पेन्सन पट्टा' आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।
भिडिओः