वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ फिल्म 'प्रिन्स' निर्देशन गर्ने भएका छन्।
शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरू गरिएको हो।
रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारले स्वर दिएका छन्।
फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन्। पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन्। फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध भएका छन्।
निर्माण पक्षका अनुसार फिल्मको प्रि-प्रोडक्सन तयारी अन्तिम चरणमा पुगेको छ। कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ।
अनुभवी निर्देशक निर शाहले ‘प्रिन्स’मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिसहित पुनः दर्शकमाझ आउने तयारी गरेका छन्।
गत वर्ष प्रदर्शनमा आएको 'परान' बाट कलाकारका रूपमा ठूलो चर्चा र प्रशंसा बटुलेका निर शाहको निर्देशनमा बनेको अर्को फिल्म 'कमला मिस' पनि प्रदर्शन तयारीमा छ।