निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनको सहकार्यमा नयाँ फिल्म 'हजारौंमा एक' निर्माण हुने भएको छ। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यको निर्देशनमा फिल्म बन्ने भएको हो।
एक्सन-एड्भेन्चर विधामा निर्माण हुन लागेको यो फिल्म रहस्य र अलौकिक कल्पनामा आधारित रहने निर्माण पक्षले जनाएको छ।
कथाको परिकल्पना सीता मायाले गरेकी हुन् भने उनी नै प्रस्तुतकर्ता पनि हुन्। दीपेन्द्र गौतम 'माइकल' कार्यकारी निर्माता रहनेछन् भने छायांकन निर्देशक (डीओपी) हरि हुमागाईं रहनेछन्।
फिल्म नेपाली भाषामा निर्माण हुने भए पनि अन्तर्राष्ट्रिय बजारलाई लक्षित गर्दै हिन्दी र मलियालम भाषामा पनि डब गरिने जनाइएको छ।
मुख्य अभिनेता मलियालम चलचित्र उद्योगसँग आबद्ध रहेको जनाउँदै निर्माण पक्षले उनको परिचय फस्र्ट लुकमार्फत सार्वजनिक गर्ने जनाएको छ। साथै, मलियालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकको पनि सहभागिता रहने निर्देशक आचार्यले बताएका छन्।
फिल्मको पटकथालाई नेपाली परिवेशअनुकूल संवाद र रूपान्तरण गर्ने काम लेखक शान बस्नेतले गरिरहेका छन्। छायांकन यसै वर्षको फागुन–चैतदेखि सुरू गर्ने तयारी छ।
निर्माण पक्षका अनुसार अधिकांश कलाकार, प्राविधिक तथा गीत-संगीत नेपाली सर्जककै रहनेछन्। करिब चार करोड रूपैयाँको अनुमानित बजेटमा निर्माण हुने फिल्म नेपालका विभिन्न पर्यटकीय क्षेत्रमा छायांकन गरिने जनाइएको छ।
आधुनिक प्रविधि, साहसिक कथा र अलौकिक कल्पनाको संयोजनमार्फत स्वदेशीसँगै अन्तर्राष्ट्रिय दर्शकलाई समेत आकर्षित गर्ने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ।