अभिनेता तथा निर्माता जितु नेपालले चर्चित हास्य टेलिभिजन शो 'कमेडी नाइट विथ च्याम्पियन्स' मा कार्यकारी अध्यक्षको जिम्मेवारी पाएका छन्।
अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको अनुपस्थितिमा उनको स्थानमा जितु देखिने भएका हुन्।
जितुले आफूलाई योग्य ठानेर जिम्मेवारी सुम्पिएकोमा दीपाश्रीप्रति आभार व्यक्त गर्दै कार्यक्रमका निर्देशक तथा होस्ट विशाल भण्डारीसहित सम्पूर्ण टिमलाई धन्यवाद दिएका छन्।
जितुले शनिबार दुई भागको छायांकन समेत गरिसकेका छन्।
उनले यो जिम्मेवारीलाई आफ्नो कलाकारिताको यात्रामा नयाँ सिकाइ र गर्वको विषयका रूपमा लिएका छन्।
सामाजिक सञ्जालमा अनुभव साझा गर्दै उनले लेखेका छन्, 'म एउटा यस्तो कलाकार हुँ, जसले हरेक नयाँ अनुभवलाई सिकाइको अवसरका रूपमा लिने गर्छु। यो जिम्मेवारी पनि मेरो लागि एउटा ठूलो अनुभव र गर्वको विषय बनेको छ।'
जितुले २०७५ सालमा नेपाल टेलिभिजनबाट प्रसारण सुरू भएको 'मुन्द्रेको कमेडी क्लब' मा दीपाश्री अध्यक्षको भूमिकामा रहेको स्मरण गर्दै अहिले केही समयका लागि दीपाश्रीकै स्थानमा बसेर जिम्मेवारी सम्हाल्न पाउनु आफ्नो लागि ठूलो सौभाग्य भएको बताएका छन्।
आफूले कार्यवाहक अध्यक्षको जिम्मेवारी इमान्दारीपूर्वक निभाउने प्रतिबद्धता समेत जितुले व्यक्त गरेका छन्।
दीपाश्रीमा मस्तिष्क ट्युमर देखिएको थियो। त्यसको सफलतापूर्वक शल्यक्रियापछि उनले स्वास्थ्यलाभ गरिरहेकी छन्।