सामाजिक कथावस्तुमा आधारित फिल्म 'रोल नं. १' प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ। जेठ १५ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले शनिबार सफलतापूर्वक ५१ औं दिन पूरा गरेको हो।
निर्माणपक्षका अनुसार फिल्मले देशभरका आधा दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको छ।
कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्स, बनेपाको शुभकामना सिनेमा, धनगढीको एसटीएस इन्टरटेन्मेन्ट, इटहरीको इलाइट सिनेमा, कावासोती सिनेमा, विराटचोकको विराट सिनेमा तथा इलामको फ्रेन्ड्स सिनेमामा फिल्मले यो सफलता पाएको हो।
चलचित्र विकास बोर्डका आधिकारिक बक्स अफिस विवरणअनुसार फिल्मले गत आइतबारसम्म १ करोड ७७ लाख रूपैयाँ ग्रसकलेक्सन गरेको थियो। त्यसयताको एकमुष्ट विवरण भने सोमबार सार्वजनिक हुनेछ।
'रोल नं. १' ले दर्शकलाई थप आकर्षित गर्ने उद्देश्यले असारको पहिलो सातादेखि टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरेको थियो। अहिले पनि देशभरका सबै प्रदर्शनरत हलका प्रत्येक शोमा दर्शकले आधा मूल्यमा फिल्म हेरिरहेका छन्।
निर्माता विनोद पौडेलका अनुसार विद्यार्थी र अभिभावकबाट टिकटको मूल्य घटाउन आएको सुझावलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। उनका अनुसार छुट योजनाले विशेषगरी विद्यार्थी र पारिवारिक दर्शकलाई हलसम्म आकर्षित गर्न सकारात्मक भूमिका खेलेको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको 'रोल नं. १'का निर्देशक जोन योञ्जन हुन्।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, निर्भिक रेग्मी, रिन्चेन लामालगायतको अभिनय छ।