शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको फिल्म 'गौंथली' ले सुखद् सुरूआत गरेको छ।
फिल्मले रिलिजको दिनदेखि नै सुखद् व्यापार गरेको हो। सकारात्मक 'वर्ड अफ माउथ' पाउँदा त्यसको प्रभाव शनिबार र आइतबारको अकुपेन्सीमा पनि स्पष्ट देखिएको छ।
शुक्रबारको राम्रो प्रतिक्रिया र शनिबारको अग्रिम बुकिङका कारण हलहरूले शोसमेत थपेका छन्। शुक्रबारको तुलनामा शनिबार फिल्मले थप शो पाएको थियो।
निर्माता सुमन गिरीका अनुसार सुरुआती तीन दिनको व्यापार उत्साहजनक छ।
केही हलको तथ्यांक आउन बाँकी रहे पनि पहिलो तीन दिनमा फिल्मले करिब एक करोड ४० लाख रूपैयाँ हाराहारी ग्रस व्यापार गरेको उनले बताए।
'हामीले पाएको रिपोर्टअनुसार पहिलो तीन दिनमा करिब एक करोड ४० लाख रूपैयाँको व्यापार भएको देखिन्छ। केही हलको रिपोर्ट आउन बाँकी छ, त्यसैले वास्तविक कलेक्सन योभन्दा माथि पनि हुन सक्छ,' गिरीले भने।
उनले सुरुआती दिनमै यस्तो प्रतिक्रिया आउने अपेक्षा भने नगरेको बताए। गिरीका अनुसार स्टार कलाकारको अभावका कारण सकारात्मक वर्ड अफ माउथले विस्तारै गति लिने टिमको आशा थियो।
'हामीले त मंगलबार/बुधबारदेखि फिल्म उकालो लाग्छ भन्ने सोचेका थियौं। तर पहिलो दिनदेखि नै दर्शकले साथ दिनुभयो। यो हाम्रो अपेक्षाभन्दा सुखद् सुरूआत हो,' उनले भने।
आइतबार पनि देशभरका अधिकांश हलमा फिल्मको अकुपेन्सी उत्साहजनक रहेको निर्माता गिरीले जानकारी दिए। बिहानका शोमा ७०/८० प्रतिशतसम्म र दिउँसोदेखिका शोमा पनि ६० प्रतिशतमाथि अकुपेन्सी रहेको उनको दाबी छ।
फिल्मप्रति दर्शकको प्रतिक्रिया पनि राम्रो रहेको निर्माता गिरी बताउँछन्। उनका अनुसार हलबाट बाहिरिने अधिकांश दर्शकले फिल्मलाई उत्कृष्ट नेपाली फिल्ममध्ये एक भन्दै कलाकार तथा निर्माण टोलीलाई बधाई दिएका छन्।
'धेरै दर्शक उठेर कलाकारलाई अँगालो हाल्दै 'यस्तो राम्रो नेपाली फिल्म बनेको रहेछ' भन्नुहुन्छ। सबैले फिल्म निकै राम्रोसँग बगेको र अन्तिमसम्म बाँधेर राख्ने खालको रहेको प्रतिक्रिया दिनुभएको छ,' उनले भने।
दर्शक उपस्थिति र प्राप्त सकारात्मक प्रतिक्रिया हेर्दा आगामी दिनमा पनि राम्रो साथ पाउने विश्वास रहेको उनले बताए।
दर्शकको उत्साहजनक उपस्थितिपछि कलाकार अरूण क्षेत्री, सिम्रन खड्कालगायतका कलाकार विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन्।
निर्देशक कपिल रिजालले दर्शकबाट प्राप्त प्रतिक्रियाले थप जिम्मेवार बन्न प्रेरित गरेको बताए।
'हामीले भेटेका अधिकांश दर्शकले यो हेर्नैपर्ने मौलिक नेपाली फिल्म भएको प्रतिक्रिया दिनुभएको छ। यो माया र उत्साहले अझ जिम्मेवार बनाएको छ,' उनले भने।
'गौंथली'मा अरूण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ।
डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।

'गौंथली' एक किशोरीको कथा हो, जसले पढेर आफ्नो भविष्य बनाउन चाहन्छे। तर परिस्थितिले उसको विवाह फरक क्षमता भएका युवकसँग हुन्छ। त्यसपछि उसको संघर्ष, आत्मविश्वास र जीवनलाई आफ्नै बलमा अगाडि बढाउने यात्राको कथालाई फिल्मले प्रस्तुत गर्छ।