प्रदर्शन तयारीमा रहेको फिल्म 'ककाकिकी'को शीर्ष गीत सार्वजनिक गरिएको छ।
कमेडी दरबार टिमको निर्माण रहेको फिल्मको गीत बुधबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ। यो गीतमार्फत अर्जुनले पार्श्वगायनमा डेब्यु गरेका छन्।
अर्जुनकै संगीत तथा हुकलाइन रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन्।
गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोल प्रस्तुत गरिएको गीतको भिडिओमा फिल्मका मुख्य कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगरलगायत देखिएका छन्।
अर्जुनसँगै पवित्रा शाकी (मिस पवि), सजिना खनाल र निश्चल खड्काले भिडिओमा नृत्य गरेका छन्। मिग्मा डि लेप्चाको कोरियोग्राफी रहेको गीतको छायांकन जर्सिङ पौवामा गरिएको हो।
पछिल्लो समय 'झलिको' गीतबाट थप चर्चा कमाएका अर्जुन 'द भ्वाइस किड्स ५'का कोचसमेत हुन्। 'ककाकिकी'को शीर्ष गीतबाट उनले अब पार्श्वगायनको यात्रासमेत सुरू गरेका छन् ।
निर्देशक बिक्की अग्रवालका अनुसार गीतले फिल्मको ग्रामीण परिवेश र उत्सवमय वातावरणलाई प्रतिनिधित्व गर्छ। गीत सार्वजनिक भएपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको निर्माण पक्षले जनाएको छ।
'ककाकिकी'मा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, खड्गबहादुर पुनमगर, दीया मास्के, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, पवन खतिवडा, माओत्से गुरूङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सृजना श्रेष्ठ, विश्वास तिमल्सिना, एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायत कलाकारहरूको अभिनय छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईँको निर्देशन रहेको फिल्म सुदिप बरालले छायांकन गरेका हुन्। फिल्मको पटकथा निर्देशक अग्रवालसँगै सरोज भण्डारी र विकास अर्यालले लेखेका हुन्। श्रद्धा प्रसाईं र सुमित्रा थापा निर्माता रहेको फिल्मलाई मिलन विक्रम शाहले सम्पादन गरेका हुन्।
'ककाकिकी'लाई सेभेन सिज इन्टरनेशनल फिल्मसले वर्ल्डवाइड रिलिज गर्दैछ। फिल्म भदौ १९ गतेदेखि प्रदर्शन तयारीमा छ।