२०८२ सालको सुपरहिट फिल्म 'ऊनको स्वीटर'को सिक्वेल निर्माण हुने भएको छ।
काठमाडौंमा आयोजित तेस्रो 'इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड'को मञ्चबाट सिक्वेलको औपचारिक घोषणा गरिएको हो। फिल्मको नाम 'कलेजी- ऊनको स्वीटर' राखिएको छ।
नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन दसैंलगत्तै सुरू गर्ने तयारी छ। फिल्मको छायांकन करिब तीन महिना हुने निर्देशक चौहानले बताए।
छायांकन नेपालसँगै भारतको सिक्किम, दार्जिलिङ, दिल्ली र मसुरीमा गरिने उनले जानकारी दिए। फिल्मलाई सन् २०२७ मा विश्वव्यापी प्रदर्शन गर्ने निर्माण पक्षको लक्ष्य छ।
सिक्वेलमा अघिल्लो फिल्मकै चर्चित जोडी विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा दोहोरिनेछन्। 'ऊनको स्वीटर'मा विपिनले धरणीधर र मिरूनाले फूलको भूमिका निर्वाह गरेका छन्। एलेक्स पारस र परीक्षा लिम्बू पनि मुख्य भूमिकामा रहनेछन्।
यससँगै भारतका चर्चित लेखक तथा अभिनेता पियूष मिश्रा पनि फिल्ममा महत्वपूर्ण भूमिकाका लागि जोडिएका छन्। लामो समय लगाएर स्क्रिप्ट पढिसकेपछि र 'ऊनको स्वीटर' हेरिसकेपछि मिश्राले यस फिल्ममा काम गर्न तयार भएको निर्देशक चौहानले जनाए।
उनका अनुसार 'कलेजी- ऊनको स्वीटर'ले अघिल्लो फिल्मकै कथालाई हुबहु निरन्तरता दिनेभन्दा त्यसको भावनालाई फराकिलो बनाउँदै नयाँ कथा र नयाँ यात्रामा लैजानेछ। धरणीधर र फूलको अधुरो प्रेमकथाबाट सुरू हुने यो यात्रा सिक्किम हुँदै नेपाल र भारतबीचको सम्बन्ध तथा सांस्कृतिक पक्षलाई समेत कथामा समेट्नेछ।
'यो केवल फिल्मको सिक्वेल मात्र नभई पात्रहरूको जीवन र अधुरो यात्राको अर्को अध्याय हो,' निर्देशक चौहानले भनेका छन्। उनका अनुसार दर्शकको माग र अघिल्लो फिल्मप्रतिको मायाका कारण सिक्वेल निर्माण गर्ने निर्णय गरिएको हो।
अभिषेक सुवेदीको सह-लेखन रहने फिल्ममा नेपाल र भारतका प्राविधिकको समेत सहभागिता रहनेछ। बाँकी प्राविधिक तथा कलाकारको टिम क्रमशः सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।
प्रेमकथामा आधारित 'ऊनको स्वीटर'ले नेपालमा करिब ११ करोड रूपैयाँभन्दा माथिको व्यापार गरेको थियो। भारतमा समेत प्रदर्शन भएको फिल्मले करिब डेढ करोड भारू कमाउँदै ५१ दिन मनाएको थियो। फिल्मका 'फूल', 'मखमली', 'काफ्ले' र 'चाहिने जो जिन्दगानी' लगायत गीत निकै लोकप्रिय बनेका थिए।
'ऊनको स्वीटर'ले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न अवार्ड समारोहमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, लेखक, संगीतलगायत विधामा पुरस्कार जितिसकेको छ।
'ऊनको स्वीटर' युट्युबमा सार्वजनिक भइसकेको छ भने युट्युबमा पनि ठूलो लोकप्रियता पाएको छ।
