आठौं संस्करणको बाह्रखरी कथा प्रतियोगिताका लागि कथा आह्वान गरिएको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बाह्रखरी मिडियाले प्रतियोगिताको आठौं संस्करण घोषणा गरेको हो।
नेपाली भाषामा कथा लेखनको सम्वर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले बाह्रखरी मिडियाले सात वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
विश्वभरबाट नेपाली भाषामा कथा लेख्ने कथाकारले प्रतियोगितामा सहभागी हुन सक्ने बताइएको छ।
तोकिएका सर्त पूरा गरी आगामी असोज ३ गतेभित्र कथा पठाउन बाह्रखरीले भनेको छ। कथा 12kharibooks@gmail.com मा इमेलमार्फत पठाउन आह्वान गरिएको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई क्रमशः दुई लाख, एक लाख र ६० हजार रूपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र दिइने आयोजकले जनाएको छ।
अन्तिम चरणसम्म पुग्ने उत्कृष्ट २५ कथा समेटेर ‘उत्कृष्ट कथा, २०८३’ प्रकाशन गरिनेछ। संग्रहमा समेटिने सर्वोत्कृष्ट तीनबाहेक बाँकी २२ कथाका कथाकारलाई जनही सात हजार रूपैयाँ सम्मानस्वरूप प्रदान गरिने उल्लेख छ।
प्रतियोगितामा सहभागी हुन नेपाली भाषामा लेखिएको मौलिक कथा पठाउनुपर्ने, अघिल्लो वर्ष प्रतियोगिताका लागि पठाइएको कथा पुनः पठाउन नपाइने, अप्रकाशित र अप्रसारित हुनुपर्ने, प्रतियोगिताको नतिजा सार्वजनिक नहुँदासम्म पठाइएको कथा अन्यत्र प्रकाशन वा प्रसारण गर्न नपाइने व्यवस्था छ।
कथा कम्तीमा एक हजार पाँच सय र बढीमा चार हजार शब्दको हुनुपर्नेछ।
यस वर्षको निर्णायक समूहमा अग्रज कथाकार भुवन ढुंगानाको संयोजकत्वमा डा. ज्ञानु अधिकारी र खगेन्द्र लामिछाने सदस्य छन्।