प्रदर्शन तयारीमा रहेको फिल्म 'बा-एक योद्धा'को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा सन्तानको सुख र भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र बलिदानलाई मुख्य विषय बनाइएको छ। सन्तानको खुसीका लागि घरसमेत बेच्न तयार हुने बुवाले आफ्नै सन्तानबाट पाउने पीडा र त्यसपछि लिने कठोर निर्णयलाई ट्रेलरमा देखाइएको छ।
बाबुआमाले सन्तानका लागि गरेको त्याग बिर्सिंदै गएको सामाजिक यथार्थलाई समेत फिल्मले उठाएको संकेत ट्रेलरले गर्छ। परिवार टुक्रिएपछि मुख्य पात्रले चाल्ने कदम र कथाको क्लाइमेक्सलाई भने ट्रेलरले सस्पेन्समै राखेको छ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको 'बा-एक योद्धा' भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरूङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारहरूको अभिनय छ। झरना थापा र सुहाना थापा फिल्ममा आमाछोरीकै भूमिकामा छन्।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता वसन्त लम्साल हुन् भने अनिल बुढाथोकी कार्यकारी निर्माता छन्। संगीतकार तथा गायकसमेत रहेका हरि लम्सालको यो फिचर फिल्म निर्देशनमा डेब्यु हो।
शिवराम श्रेष्ठ डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन्। फिल्मको वितरण आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।
'बा-एक योद्धा' कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा रिलिज हुन लागेको हो।