दक्षिण एसियाका सांस्कृतिक तथा धार्मिक सम्पदा पश्चिमी संग्रहालयसम्म कसरी पुगे, तिनले आफ्नो मूल सन्दर्भ गुमाउँदा के हरायो र विस्थापित सम्पदा फिर्ता गर्ने अधिकार कसको हो भन्ने प्रश्नमाथि केन्द्रित अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा सुरू हुँदैछ।
‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार अपराह्न ३ बजे बौद्धस्थित तारागाउँ कल्चरल सेन्टरमा उद्घाटन हुँदैछ।
तारागाउँ नेक्स्टको आयोजनामा तथा सराफ फाउन्डेसनको सहयोगमा हुन लागेको प्रदर्शनीको क्युरेसन डा. अर्शिया मन्सुर लोखण्डवालाले गरेकी हुन्।
उद्घाटन कार्यक्रममा तारागाउँ नेक्स्टका रोशन मिश्र र सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले स्वागत मन्तव्य दिनेछन्।
त्यसपछि क्युरेटर डा. लोखण्डवालाले प्रदर्शनीको अवधारणा र क्युरेटोरियल दृष्टिकोणबारे परिचय दिँदै सांस्कृतिक सम्पदाको विस्थापन, पुनःस्थापना, स्वामित्व र फिर्तासँग जोडिएका समसामयिक प्रश्नमाथि प्रकाश पार्नेछिन्।
कार्यक्रमअन्तर्गत प्रदर्शनीमा सहभागी कलाकार रोशन मिश्र र शौर्य कुमारबीच कलाकार संवादसमेत आयोजना हुनेछ। डा. लोखण्डवालाले सहजीकरण गर्ने उक्त संवादमा कलाकारहरूले प्रदर्शित आफ्ना सिर्जना तथा तिनसँग जोडिएका ऐतिहासिक, राजनीतिक र नैतिक प्रश्नबारे छलफल गर्नेछन्। कलाकार संवादपछि दर्शक तथा सहभागीहरूसँग प्रश्नोत्तर कार्यक्रम पनि हुनेछ।
प्रदर्शनीले दक्षिण एसियाका देवप्रतिमा, पाण्डुलिपि तथा धार्मिक–अनुष्ठानिक वस्तु तिनको जीवित सांस्कृतिक परिवेशबाट अलग भएर पश्चिमी संग्रहालयमा पुगेपछि सिर्जना भएको सांस्कृतिक विच्छेदलाई कलात्मक दृष्टिकोणबाट केलाउने प्रयास गरेको छ।
धार्मिक आस्था, समुदाय र परम्परासँग जोडिएका वस्तु संग्रहालयमा पुगेपछि केवल हेर्न र संग्रह गर्न मिल्ने ‘कलावस्तु’मा सीमित हुने अवस्थामाथि पनि प्रदर्शनीले प्रश्न उठाउँछ।
नेपालका खाली भएका मन्दिरदेखि भारतका विभिन्न स्थानबाट बाहिरिएका कांस्य मूर्ति, पाकिस्तानको गान्धार क्षेत्रका मूर्तिकला र बंगलादेशको टेराकोटा सम्पदासम्मका सन्दर्भमार्फत प्रदर्शनीले दक्षिण एसियाभर फैलिएको सांस्कृतिक सम्पदा विस्थापनको इतिहासलाई जोड्ने प्रयास गरेको छ।
यसले सम्पदा हराएको कथा मात्र प्रस्तुत नगरी त्यस्तो विस्थापन सम्भव बनाउने औपनिवेशिक ज्ञान प्रणाली, अवैध कला तथा पुरातात्त्विक वस्तुको बजार, संस्थागत भूमिका र वस्तुको सांस्कृतिक उपस्थितिभन्दा स्वामित्वलाई प्राथमिकता दिने संग्रहालयीय अभ्यासमाथि समेत बहस अघि सारेको छ।
प्रदर्शनीकी क्युरेटर डा. लोखण्डवालाका अनुसार विश्वका संग्रहालयहरू आफ्ना संग्रहभित्र रहेको औपनिवेशिक इतिहासबारे पुनर्विचार गर्न थालेसँगै सांस्कृतिक सम्पदा फिर्ताको विषय समकालीन विश्वको महत्वपूर्ण सांस्कृतिक बहस बनेको छ। दक्षिण एसियाको सन्दर्भमा सम्पदा फिर्ता हुनुपर्छ कि पर्दैन भन्ने प्रश्न मात्र पर्याप्त नभई त्यसको स्वामित्व कसले निर्धारण गर्छ, त्यसको अर्थ कसले व्याख्या गर्छ र विस्थापित सम्पदाको भविष्यबारे निर्णय गर्ने अधिकार कससँग हुन्छ भन्ने प्रश्न अझ महत्वपूर्ण रहेको उनको भनाइ छ।
प्रदर्शनीमा तेम्सुयाङ्गर लोङकुमेर, रीतु सत्तार, शौर्य कुमार, राक्स मिडिया कलेक्टिभ, मिथु सेन, दिव्या मेहरा, मरियम घानी, एल.एन. तल्लुर, रोशन मिश्र, विशाल मानन्धर र जगत वीरसिंघेका कला सिर्जना समावेश छन्।
सराफ फाउन्डेसनकी सहसंस्थापक नमिता सराफले सांस्कृतिक सम्पदा हराउने र पुनःफिर्ता ल्याउने विषय नेपालका लागि विशेष महत्वको रहेको बताएकी छन्।
उनका अनुसार यस्तो प्रदर्शनीले दक्षिण एसियाली समाजलाई आफ्नो इतिहासलाई आफ्नै दृष्टिकोणबाट हेर्न तथा सांस्कृतिक सम्पदाको पुनःस्थापनाले भविष्यमा के अर्थ राख्छ भन्ने विषयमा विमर्श गर्ने अवसर दिन्छ।
सराफ फाउन्डेसनको सहयोगमा नेपालमा डा. लोखण्डवालाले क्युरेट गरेको यो तेस्रो प्रदर्शनी हो। यसअघि उनले क्युरेट गरेको ‘फेमिनिस्ट फ्युचर्सः आर्ट, एक्टिभिज्म एन्ड साउथ एसियन वुमनहुड’ प्रदर्शनीमा तीन नेपाली महिला कलाकारसमेत सहभागी थिए। उक्त प्रदर्शनी सन् २०२५ को सेप्टेम्बरमा श्रीलंकामा पनि प्रदर्शन गरिएको थियो।
दक्षिण एसियाली सम्पदाको स्वामित्व, संग्रहालयको भूमिका, औपनिवेशिक इतिहास र सांस्कृतिक पुनःस्थापनाबारे अन्तर्राष्ट्रियस्तरमा बहस तीव्र भइरहेका बेला तारागाउँ कल्चरल सेन्टरमा हुन लागेको यो प्रदर्शनीले नेपाललाई समेत उक्त विमर्शको केन्द्रमा ल्याउने प्रयास गरेको छ।