सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र 'रोड टु एभरेस्ट'को नेपाल प्रिमियर गरिएको छ।
शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा वृत्तचित्रको प्रिमियर गरिएको हो। प्रिमियरमा विभिन्न क्षेत्रका व्यक्तित्व, सञ्चारकर्मी, शिक्षाविद्, पर्यटन तथा पर्वतारोहण क्षेत्रका प्रतिनिधि, कलाकार र दर्शकको उपस्थिति थियो।
निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनभन्दा पनि बुझाउनका लागि वृत्तचित्र निर्माण गरिएको बताए।
'सगरमाथा केवल एउटा हिमाल होइन। यो नेपाली साहस, सपना, संघर्ष, पहिचान र भविष्यसँग जोडिएको हाम्रो गौरव हो,' उनले भने।
उनका अनुसार सगरमाथासम्बन्धी कथा लामो समयदेखि अरूमार्फत सुनिँदै आएको छ। अब आफ्नै हिमालको कथा नेपालीले आफ्नै दृष्टिकोणबाट भन्नुपर्ने मान्यता वृत्तचित्रले बोकेको उनले बताए।
'हामीसँग आफ्नै कथा छ, आफ्नै दृष्टिकोण छ। त्यसैले हाम्रो हिमाल र हाम्रो कथा हामी आफैंले भन्न सक्नुपर्छ,' श्रेष्ठले भने। उनले 'रोड टु एभरेस्ट' भावी पुस्ताका लागि दस्तावेजसमेत बन्ने बताए।
'त्यसबेला हाम्रो पुस्ताले भोगेको हिमाल, त्यसको सौन्दर्य, संघर्ष र त्यससँग जोडिएको कथा यसले सुनाइरहनेछ। सगरमाथा हाम्रो देशको गौरव हो भन्ने अनुभूति पनि यसले गराइरहनेछ,' श्रेष्ठले बताए।
कार्यक्रममा वी वील राइज फाउण्डेसनका अध्यक्ष तुलसी गुरूङले सगरमाथा विश्वले चिनिसकेको विषय भए पनि यसको वास्तविक अर्थ र महत्वलाई नेपाली दृष्टिकोणबाट बुझाउने उद्देश्यले 'रोड टु एभरेस्ट' निर्माण गरिएको बताए। ५० मिनेट लामो वृत्तचित्रले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको यात्रालाई प्रस्तुत गरेको छ। यसमा पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान र जलवायु परिवर्तनका कारण बदलिँदै गएको हिमाली वातावरणलाई समेटिएको छ।
वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरूङको सगरमाथा आरोहण यात्रा रहेको छ। उमेर र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा चढ्ने उनको यात्रालाई फिल्मले सपना, संघर्ष र दृढ संकल्पको कथाका रूपमा प्रस्तुत गरेको छ।
वृत्तचित्रमा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पासहित विनोद गुरुङ, सुरज गुरूङ र निर्देशक निर्मल श्रेष्ठ स्वयंको पनि सहभागिता रहेको छ। वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। यो वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।
निर्माण पक्षका अनुसार 'रोड टु एभरेस्ट' मा कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग गरिएको छैन। सामाजिक संस्था वी वील राइज फाउण्डेसनद्वारा निर्मित वृत्तचित्रको उद्देश्य नेपाली हिमाली सम्पदा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुका साथै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावबारे जनचेतना फैलाउनु रहेको निर्माण पक्षले जनाएको छ।
नेपाल प्रिमियर सम्पन्न भएसँगै ‘रोड टु एभरेस्ट’लाई नेपालका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा लैजाने तयारी भइरहेको छ। यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा आयोजना हुने निर्माण पक्षले जनाएको छ।
प्रदर्शनपछि दर्शकले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गरेका थिए। उनीहरूले 'रोड टु एभरेस्ट'ले सगरमाथालाई नयाँ दृष्टिकोणबाट बुझ्ने अवसर दिएको प्रतिक्रिया दिएका छन्।
नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गर्नु सकारात्मक भएको दर्शकको भनाइ थियो।



