पारस बम ठकुरी (कुल ब्वाइ) र दिव्या रायमाझीको मुख्य अभिनय रहेको फिल्म 'बेहुली'को दोस्रो गीत 'म भइँन भने' सार्वजनिक गरिएको छ।
फिल्मको पहिलो गीत 'दिलमा ठाउँ छ'को युट्युबमा १ करोड भ्यूजको आँकडा नजिकिँदै गर्दा निर्माण टिमले दोस्रो गीत दर्शकमाझ ल्याएको हो।
दुर्गा खरेल र सुरेश लामाको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र उदयराज पौडेलको एरेन्ज छ। गीतको भिडिओ दार्जिलिङ, मिरिक र सिक्किमका रमणीय स्थानमा छायांकन गरिएको हो।
भिडिओमा फिल्मका मुख्य कलाकार पारस बम ठकुरी र दिव्या रायमाझीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। फिल्मका प्रस्तुतकर्ता समेत रहेका अर्जुन पोखरेलले कथाको भाव र दृश्यको मागअनुसार गीत छायांकनका लागि भारतका यी स्थान रोजिएको बताए।
भिडिओमा उत्सव दाहालको सिनेमाटोग्राफी र सियोन श्रेष्ठको कोरियोग्राफी छ।
सशान कँडेलको निर्देशन तथा माधव शर्माको लेखन रहेको 'बेहुली'मा पारस र दिव्यासँगै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, विशाल पहारी, घनश्याम जोजी, कर्मा लामा, दीपक गौलीलगायत कलाकारहरूको अभिनय छ।
द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा अर्जुन पोखरेल प्रस्तुतकर्ता, प्रताप शमशेर राणा निर्माता तथा शंकर कोइराला र रमेश सिलवाल कार्यकारी निर्माता छन्। दुर्गा खरेल र शिशिर श्रेष्ठ सह-निर्माता हुन्।
फिल्मको डीओपी नरेन्द्र मैनाली, सम्पादक विकास दाहाल र एक्सन कोरियोग्राफर रोशन श्रेष्ठ हुन्।
काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर श्री व्यंकटेश इन्टरटेन्मेन्टले वितरण गर्ने चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ।
'बेहुली' यही भदौ २६ गतेदेखि प्रदर्शन तयारीमा छ।