रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'मा समावेश तीज गीत 'नक्कल पारी' सार्वजनिक गरिएको छ।
सोमबार बुढासुब्बा डिजिटल युट्युबमार्फत शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको यो गीत सार्वजनिक गरिएको हो। गीतमा प्रशान्त शिवाकोटीको संगीत तथा सुष्मा सिग्देलको शब्द छ।
तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको लोकफ्लेभरको गीतले पछिल्लो समय तीज संस्कृति मनाउनेभन्दा देखाउने माध्यम बन्दै गएको प्रवृत्तिलाई चित्रण गर्छ। विशेषगरी अरूको देखासिकी गर्दै महँगा लुगा र गहना लगाउने तथा त्यसका लागि श्रीमानसँग माग गर्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ।
डान्सिङ बिटमा तयार पारिएको गीतमा श्रीमतीको माग पूरा गर्ने श्रीमानको वाचा पनि समेटिएको छ। भिडिओमा फिल्मका मुख्य कलाकारसँगै दर्जनौं कोरस कलाकारको सहभागिता छ। भिडिओको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन्।
भिडिओमा दिल श्रेष्ठ, पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहले नृत्य गरेका छन्। साथमा अभिनेत्री खुसी कार्कीको समेत नृत्य हेर्न सकिन्छ।
'दिया एन्ड अमु फिल्मस्'को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकारको अभिनय छ।
लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत पनि फिल्ममा देखिनेछन्।
हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ फिल्मका निर्माता हुन्। ध्रुव लम्सालको पटकथा रहेको फिल्मले प्रेमकथामार्फत सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने निर्माणपक्षले जनाएको छ।
सुदीप बरालको छायांकन रहेको फिल्ममा बनिश शाहको सम्पादन छ।
'माया भनेकै यस्तो होला'मार्फत रेखा आठ वर्षपछि निर्देशनमा फर्किएकी हुन्। फिल्म भदौ २६ गतेदेखि प्रदर्शनमा आउनेछ।