नेपाली फिल्म 'तिनीहरू (एलिफेन्टस् इन द फग)'ले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलता र ऐतिहासिक उपलब्धिको उत्सवस्वरूप भक्तपुर दरबार क्षेत्रमा 'पेन्ट एन्ड सेलिब्रेट' कार्यक्रम आयोजना गरिएको छ।
आइतबार आयोजित कार्यक्रममा १५ जना कलाकारले फिल्मबाट प्रेरणा लिएर मौलिक कलाकृति सिर्जना गरेका थिए। चित्रकार, प्रिन्टमेकर तथा कन्सेप्चुअल कलाकार सहभागी कार्यक्रममा फिल्मका वातावरण, विषयवस्तु, भावनात्मक संसार र अन्तर्राष्ट्रिय यात्रालाई आ-आफ्नो कलाशैली र दृष्टिकोणबाट प्रस्तुत गरेका थिए।
अविनाश विक्रम शाह निर्देशित 'तिनीहरू' कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा आधिकारिक रूपमा छनोट हुने पहिलो नेपाली फिल्म हो। फिल्मले सोही विधामा जुरी पुरस्कारसमेत जित्दै नेपाली सिनेमाका लागि ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
ब्रिटिश काउन्सिल र फ्रान्सेली केन्द्र काठमाडौंको सहयोगमा आयोजित कार्यक्रममा फिल्मकी मुख्य कलाकार पुष्पा थिङ लामा, निर्माता अनुप पौडेल तथा ब्रिटिश काउन्सिलकी नुज तुलाधरको पनि उपस्थिति थियो। उनीहरूले सहभागी कलाकारसँग अन्तरक्रिया गर्दै सिर्जनात्मक प्रक्रियालाई प्रोत्साहित गरेका थिए।
निर्माता अनुप पौडेलका अनुसार फिल्म आफैं अमेरिकी फोटोग्राफर नान गोल्डिनको एउटा तस्बिरबाट प्रेरित भएकाले विभिन्न कला माध्यमलाई जोड्ने उद्देश्यले 'पेन्ट एन्ड सेलिब्रेट' आयोजना गरिएको हो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ललितकला क्याम्पस र काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्स एन्ड डिजाइनसँग आबद्ध कलाकारसँगै नयाँ तथा स्थापित कलाकारको सहभागिता थियो। सुदूरपश्चिम, लुम्बिनी, वीरगञ्ज र पोखरालगायत विभिन्न क्षेत्रबाट आएका कलाकारले कार्यक्रममा सहभागिता जनाएका थिए।
कलाकारहरूले फिल्मका दृश्यलाई प्रत्यक्ष पुनःनिर्माण नगरी त्यसका विषयवस्तु, पात्र, भावना र सांस्कृतिक अर्थबाट प्रेरणा लिएर यथार्थवाद, अतियथार्थवाद, प्रिन्टमेकिङ, टेक्सटाइल आर्ट तथा सेमी-एब्स्ट्र्याक्ट मिक्स्ड मिडियालगायत शैलीमा कलाकृति तयार गरेका थिए।
कार्यक्रममा सिर्जना गरिएका कलाकृति भदौ ११ देखि १३ गतेसम्म दलाई-ला होटलमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।
'तिनीहरू (एलिफेन्टस् इन द फग)' यही भदौ १९ गते कृष्णजन्माष्टमीका दिनदेखि नेपालभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।




