सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्म 'द राइज अफ साम्राज्य'मा अभिनेत्री अञ्जना बराइली अनुबन्धित भएकी छन्।
सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन र विजय बरालपछि अञ्जनाको फिल्ममा प्रवेश भएको हो। पछिल्लो समय व्यस्त र मागमा रहेकी अञ्जनाको प्रवेशसँगै कलाकारको लाइनअप थप बलियो बनेको छ।
निर्देशक सौरभले भने, 'दर्शकको रोजाइमा रहेका र कथाले मागेका कलाकारलाई हामीले लिइरहेका छौं। यो क्रम अझै जारी रहनेछ।'
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म मल्टिस्टारर हुनेछ। उपन्यासकार बुद्धिसागरले फिल्मको कथा तथा पटकथा लेखेका छन्। निर्देशक चौधरीका अनुसार यो ‘एपिक एक्सन ड्रामा’ विधाको फिल्म हुनेछ।
सौरभले यसपटक आफ्नो अघिल्ला फिल्मको तुलनामा ठूलो क्यानभासमा काम गर्ने तयारी गरेका छन्। निर्माण पक्षले यसलाई नेपाली सिनेमाकै ठूलो स्केलमा बन्न लागेको एक्सन फिल्मका रूपमा प्रस्तुत गरेको छ। फिल्मको छायांकन आगामी साताबाट सुरू हुनेछ। निर्माण टिमले ७० दिनको छायांकन तालिका तयार पारेको छ। फिल्मको अधिकांश छायांकन पूर्वी नेपालमा गरिने जनाइएको छ।
यो फिलमका निर्माता प्रवेश चौधरी र निला देव हुन्। को-प्रोड्युसरमा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे छन्।
मानकृष्ण महर्जन डीओपी तथा श्री श्रेष्ठ एक्सन निर्देशकका रूपमा छन्।