माओत्से गुरूङको निर्देशनमा बनेको फिल्म 'पेन्सन पट्टा'को ट्रेलर सार्वजनिक गरिएको छ।
दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
लाहुरे जीवनलाई बाहिरबाट पेन्सन, प्रतिष्ठा र सुख-सुविधासँग जोडेर हेरिन्छ। तर 'पेन्सन पट्टा'ले लाहुरे जीवनसँग जोडिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको कथा प्रस्तुत गर्ने ट्रेलरले देखाउँछ।
सार्वजनिक ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ।
परिवारमा वर्षौंदेखि चर्चाबाट ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रमार्फत फिल्मले लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावलाई प्रस्तुत गर्न खोजेको छ।
पेन्सनको अधिकारसँग जोडिएको खोजी क्रमशः पारिवारिक विगत, सम्बन्धको दूरी र पहिचानको प्रश्नसँग जोडिँदै जाने ट्रेलरले संकेत गर्छ।
भदौ २६ गतेदेखि प्रदर्शनमा आउने 'पेन्सन पट्टा'मा दयाहाङ राईसँगै गौमाया गुरूङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरूङ, माया गुरूङ, पुष्कर बहादुर गुरूङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तमु, राज काउचा मगर, यासिली योख्खा, डिबी गुरूङ, प्रतिच्छ्या गुरूङ, सोल गुरूङ, अनुषा राई, मनोज गुरूङ, मनिका गुरूङ, कुबिना गुरूङलगाययत कलाकारहरूको अभिनय छ।
निर्माता मीन कोन्मे गुरूङ, भोजबहादुर गुरूङ, माया गुरूङ र सपना गुरूङ हुन्।
सुशन प्रजापतिले छायांकन गरेको फिल्मको सम्पादन निमेश श्रेष्ठ र केर डी. कोइन्च लिनुचले गरेका हुन्।
फिल्मको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो।




