रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति भएपछि देश शोक र विपद्को परिस्थितिबाट गुज्रिरहेको छ। बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र उपचारका लागि सहयोग जुटाउने क्रम जारी छ।
यसैबीच वरिष्ठ अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले प्रधानमन्त्री राहत कोषमा दुई लाख रूपैयाँ सहयोगको घोषणा गरेका छन्।
हरिवंशले सामाजिक सञ्जालमार्फत बाढीको वितण्डाले देश रोइरहेको भन्दै देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो गच्छेअनुसार प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न आग्रह समेत गरेका छन्।
उनले लेखेका छन्, 'बाढीको बितन्डाले देश रोइरहेको बेला पक्ष विपक्ष नभनि देश विदेशमा रहेका नेपालीहरुलाई प्रधानमन्त्री राहत कोषमा आफ्नो गक्षअनुसार सहयोग गर्न हार्दिक अनुरोध गर्दै हामी (मह)बाट एक/एक लाख गरी दुई लाख रूपैयाँ प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दछौं।'
विपद्को यस कठिन समयमा मह जोडीले आर्थिक सहयोगसँगै देश तथा विदेशमा रहेका नेपालीलाई राहत कोषमा सक्दो सहयोग गर्न अपिल गरेका छन्।