रसुवाको त्रिशूलीमा आएको भीषण बाढीपछि नेपाली कलाकारहरूले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा धमाधम आर्थिक सहयोग गरिरहेका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले प्रधानमन्त्री राहत कोषमा दुई लाख रूपैयाँ सहयोगको घोषणा गरेका छन्। मह जोडीले सामाजिक सञ्जालमार्फत बाढीको वितण्डताले देश रोइरहेको भन्दै पक्ष-विपक्ष नभनी देश तथा विदेशमा रहेका नेपालीलाई आफ्नो गच्छे अनुसार राहत कोषमा सहयोग गर्न आग्रह गरेका छन्।
अभिनेत्री नीता ढुंगानाले बाढीपीडित तथा प्रभावित परिवारको सहयोगका लागि सरकारको राहत कोषमा एक लाख रूपैयाँ सहयोग गरेकी छन्। उनले यस्तो कठिन समयमा सबैले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह गरेकी छन्।
हाल अस्ट्रेलियामा रहेकी गायिका रचना रिमालले पनि एक लाख रूपैयाँ सहयोग गरेकी छन्। उनले प्राकृतिक विपद्ले धेरै परिवारलाई पीडा र क्षति पुर्याएको भन्दै नागरिकको हैसियतले आफूले सकेको आर्थिक सहयोग गरेको बताएकी छन्। साथै, आफू सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया पुगेको र विपद्को अवस्थालाई मध्यनजर गर्दै हाललाई आफ्ना कार्यक्रमहरू अर्को सूचना नभएसम्म स्थगित गरिएको जानकारी पनि दिएकी छन्।
अभिनेता विराज भट्टले एक लाख ५१ हजार रूपैयाँ सहयोग गरेका छन्। उनले सहयोग गरेको स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
गायिका शान्तिश्री परियारले ५० हजार रूपैयाँ सहयोग गरेकी छन्। उनले पनि सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरेकी छन्।
गायिका बेनिशा पौडेलले १ लाख रूपैयाँ सहयोग गरेकी छन्।
त्यस्तै, अभिनेता अनमोल केसीले पनि आफूले राहत कोषमा सहयोग गरेको जानकारी दिएका छन्। उनले विपद् कसैको ढोका ढकढक्याएर नआउने भन्दै रकम सानो वा ठूलोभन्दा पनि सहयोगको भावना ठूलो हुने बताएका छन्। उनले सबैलाई सरकारको आधिकारिक माध्यममार्फत आफूले सक्ने सहयोग गर्न आग्रह गरेका छन्।
अभिनेत्री करिश्मा मानन्धरले संकटको यस घडीमा सबै नेपाली एकजुट भएर सक्दो सहयोग गर्न आग्रह गरेकी छन्। उनले विपद्मा परेका नागरिकलाई साथ दिन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएकी छन्।
अभिनेता दीपकराज गिरीले पनि आफ्नो गच्छे र क्षमताअनुसार राज्यले तोकेको एकद्वार प्रणालीमार्फत सहयोगमा जुट्न आग्रह गरेका छन्।
अभिनेता दयाहाङ राईले पनि सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै विपद्को कठिन परिस्थितिमा मानवीय सहयोग र सद्भाव देखाउन आग्रह गरेका छन्।
यस्तै, अभिनेत्रीहरू सुरक्षा पन्त, आँचल शर्मा, गायकहरू प्रमोद खरेल, शिव परियार बद्री पंगेनी, अर्जुन सापकोटा, एलिना चौहान, समीक्षा अधिकारी लगायतले पनि सामाजिक सञ्जालमार्फत विपद् प्रभावितका लागि सहयोग गरेको जानकारी दिएका छन्।
कलाकारहरूले संस्थागत रूपमा पनि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान केन्द्रिय समितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
अन्य कलाकारहरूले पनि आर्थिक सहयोगसँगै उद्धार, राहत र पुनःस्थापनाका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरिरहेका छन्।