नीता ढुंगानाको निर्देशन तथा शीर्ष अभिनय रहेको फिल्म 'पार्वती' प्रदर्शनमा आएको छ। फिल्म आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा रिलिज भएको हो।
फिल्मको पहिलो दिनको सम्पूर्ण बक्सअफिस कमाइ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ।
निर्मात्री समेत रहेकी नीताले बाढी प्रभावितका लागि सहयोगस्वरूप फिल्मको ओपनिङ कलेक्सन कोषमा दिने निर्णय गरिएको बताएकी छन्। यसअघि उनले व्यक्तिगत रूपमा पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रूपैयाँ सहयोग गरिसकेकी छन्।
विपत्तिको समयमा फिल्ममार्फत पनि सहयोग गर्न सकियोस् भनेर पहिलो दिनको कमाइ राहतमा दिने निर्णय गरिएको नीताले बताइन्।
सामाजिक कथावस्तुमा आधारित 'पार्वती'मा नीता ढुंगानाले शीर्ष भूमिका निर्वाह गरेकी छन्। फिल्ममा उनले अटिजम भएकी पात्रको भूमिका निभाएकी छन्। नीताका साथमा अशोक दर्जी, दीपाश्री निरौला, राज पंगेनी, शिरू विष्ट, आशा पौडेललगायत कलाकारहरूको अभिनय छ।
निर्माता हरिहर अधिकारी हुन्।