अभिनेत्री वर्षा शिवाकोटीले बाढी प्रभावितका लागि ३ लाख रूपैयाँ सहयोग गरेकी छन्। उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत सहयोगबारे जानकारी दिँदै वर्षाले उक्त रकमले पीडितहरूको पीडा पूर्ण रूपमा मेटाउन नसके पनि कठिन समयमा थोरै भए पनि राहत र आशा मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छन्।
'यो रकमले उहाँहरूको पीडा त मेटाउन सक्दैन, तर कठिन समयमा उहाँहरूलाई थोरै भए पनि राहत र आशा दिन सकोस् भन्ने मेरो आफ्नो प्रयास हो,' वर्षाले लेखेकी छिन्, 'विश्वसनीय राहत अभियानमा जोडिऔं र पीडित परिवारलाई फेरि आफ्नो खुट्टामा उभिन सक्ने आधार बनौं।'
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएको छ। बाढी प्रभावितको सहयोगका लागि यसअघि पनि थुप्रै कलाकारले आर्थिक तथा अन्य सहयोग गरिसकेका छन्।
वर्षा अभिनीत आगामी फिल्म 'छ माया छपक्कै २' दसैंको अवसरमा प्रदर्शनमा आउने तय छ।