केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गरिन्।
गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगे। गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट एक लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरे।
यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। भोटेकोशी-त्रिशूलीको विनाशकारी बाढीपछि स्वतःस्र्फूत रूपमा राहत सहयोग जुट्ने क्रम जारी छ। यसमा अभियानमा कलाकारहरूले पनि हातेमालो गरिरहेका छन्।
गायक प्रकाश सपूतले संकटको घडीमा नेपाल र नेपालीको सह-अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताए। विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एक्यबद्धतापूर्व उभिनु कलाकारको पनि दायित्व भएको उनको भनाइ छ। गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाए।
बाढीमा अभिभावक गुमाएका बालबालिकाको अवस्था देख्दा आफूले मन थाम्न नसकेको उनले बताए। बाढी प्रभावितका लागि सानो स्तरमा भए पनि राहत पुगोस् भनेर आफू अत्यावश्यक सहायता सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको गायक थापाको भनाइ छ।
गायिका समीक्षा अधिकारीले बाढी प्रभावितको पीडामा साथ दिने प्रयास गरेको उल्लेख गरिन्। सहयोग सानो वा ठूलो भन्दापनि दुःखका बेला कसैको साथमा उभिन सक्नु नै सबैभन्दा महत्वपूर्ण हुने उनको भनाइ छ।
गायिका रचना रिमालले पनि आफ्नो तर्फबाट यथोचित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्। देशवासीको दुःख र पीडामा सकेको साथ दिनुपर्छ भन्ने भावनासहित आफूले सक्दो सहयोग गरेको उनले उल्लेख गरेकी छन्। व्यक्तिगत रुपमा मात्र नभई कलाकार सम्बद्ध विभिन्न संघसंस्था पनि विपद्मा सहारा बनिरहेका छन्।
बागलुङ कलाकार समाजले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७५ हजार पाँच सय ५५ रूपैयाँ सहयोग गरेको समाजका अध्यक्ष एवं गायक वसन्त थापाले जानकारी दिए। तीजको सम्मुखमा देशले व्यहोरिरहेको महाविपत्तिमा कतिपय कलाकारले देशविदेशमा हुने तीज विशेष सांगीतिक कार्यक्रम स्थगन गरेका छन्।
सामूहिक दरखानेलगायत तीजका मनोरञ्जनात्मक कार्यक्रम स्थगन गरी तिनमा हुने आर्थिक खर्चलाई बाढी प्रभावितको सहयोगार्थ पठाउने क्रम बढ्दो छ। प्रबुद्ध युवा समूह, बागलुङले आगामी साता आयोजना गरेको ‘गण्डकी प्रदेशस्तरीय दोस्रो अन्तरविद्यालय तीज नृत्य प्रतियोगिता’ स्थगन गरी उक्त कार्यक्रमका लागि संकलित एक लाख रूपैयाँ बाढी प्रभावित राहतमा खर्च गरेको छ। समूहको टोली बागलुङदेखि राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको समूहका अध्यक्ष रोहित सुनारले जानकारी दिए।
भोटेकोशी-त्रिशूलीको बाढीले पुर्याएको अकल्पनीय जनधनको क्षतिले यतिबेला सिंगो मुलुक नै आक्रान्त छ। बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि देश, विदेशबाट स्वतःस्र्फुत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ। संकलित राहतलाई एकद्वार प्रणालीबाट बाढी प्रभावित परिवारलाई वितरणका लागि राज्यका निकायमार्फत सहजीकरण भइरहेको छ।
सरकारी निकायसँगै जनस्तरबाट बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ।