प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म 'मास्टर्नी' बक्सअफिसमा कमजोर देखिएको छ। भदौ ५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले सुखद् व्यापार गर्न नसकेको हो।
फिल्मले भदौ १४ गतेसम्म ३९ लाख ५२ हजार ८५९ रूपैयाँ ग्रस कमाइ गरेको छ। उक्त कमाइ हुँदा फिल्मको ११ हजार ९९६ वटा टिकट बिक्री भएको चलचित्र विकास बोर्डले जनाएको छ।
बोर्डले सोमबार ‘मास्टर्नी’सहित यसअघि रिलिज 'गौंथली', 'हली' र 'लज्जावती'को पनि पछिल्लो बक्स अफिस विवरण सार्वजनिक गरेको छ।
जसअनुसार 'गौंथली'को ग्रस कमाइ २५ करोड ६८ लाख ६२ हजार ८० रूपैयाँ पुगेको छ। साउन १ गते रिलिज यो फिल्मलाई अहिलेसम्म ९ लाख ३१ हजार ६२७ जना दर्शकले हेरेका छन्।
'हली' र 'लज्जावती'को व्यापार भने कमजोर छ। साउन २२ मा रिलिज 'हली'ले २३ लाख ११ हजार २७० रूपैयाँ ग्रस कमाएको छ। यसलाई ८ हजार ४६३ जनाले हेरेका छन्।
साउन २९ गते रिलिज 'लज्जावती'ले ७ लाख ७५ हजार ४७० रूपैयाँ कमाएको छ। यसलाई २ हजार ७३५ जना दर्शकले हेरेका छन्। गत शुक्रबार रिलिज 'पार्वती'को बक्स अफिस विवरण भने आगामी सोमबार सार्वजनिक हुनेछ।