भोटेकोशी बाढीपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै फिल्म 'बा: एक योद्धा'को प्रदर्शन स्थगित गरिएको छ।
यही भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब उक्त मितिमा रिलिज नहुने भएको हो। देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको निर्माण पक्षले जनाएको छ।
आर्टिस्टिक इन्टरटेन्मेन्टले सोमबार विज्ञप्ति जारी गर्दै विपद्को यो अवस्थामा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित फिल्म प्रदर्शन गर्नु उपयुक्त नठानेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, 'हाम्रो बुझाइमा सिनेमा समाजको ऐना मात्र होइन, यो मानवीय संवेदनाको संवाहक पनि हो। देशको एउटा भूगोल अकल्पनीय प्रलयमा परी हाम्रा बुवाआमा, दाजुभाइ-दिदीबहिनीहरू आर्तनाद गरिरहेको वर्तमान अवस्थामा सामाजिक र पारिवारिक कथावस्तु बोकेको चलचित्र हाल प्रदर्शन गर्न हामीले उपयुक्त ठानेनौं।'
निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति समेत घोषणा गरेको छ। निर्माता वसन्त लम्सालका अनुसार फिल्म अब मंसिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउनेछ।
यसैबीच, 'बाः एक योद्धा' परिवारले विपद्का प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख १ हजार रूपैयाँ सहयोग समेत गरेको छ।
भोटेकोशी बाढीपछिको असहज परिस्थितिको प्रभाव फिल्मको प्रदर्शन तालिकामा पनि देखिएको छ। यसअघि भदौ १९ गते प्रदर्शन हुने भनिएको फिल्म 'ककाकिकी' र भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको 'माया भनेकै यस्तो होला'ले पनि प्रदर्शन स्थगित गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरिसकेका छन्।