प्रदर्शन तयारीमा रहेको फिल्म 'एलिफेन्ट्स इन द फग (तिनीहरू)' ले प्राकृतिक विपत्तिबाट प्रभावितका लागि सहयोग गर्ने भएको छ।
फिल्मले विशेष प्रदर्शन आयोजना गरी त्यसबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको हो।
फिल्मको विशेष प्रदर्शन भदौ १७ गते बुधबार आयोजना गरिनेछ। उक्त प्रदर्शनमा आमन्त्रित दर्शकबाट उठ्ने सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फिल्मको टिमले जनाएको छ। निर्माण टिमले मंगलबार सन्देश जारी गर्दै यस्तो घोषणा गरेको हो।
'एलिफेन्ट्स इन द फग (तिनीहरू)' भदौ १९ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ।
फिल्मकर्मीका रूपमा आफूहरूले गर्न सक्ने सानो योगदानस्वरूप सहयोगार्थ विशेष प्रदर्शन आयोजना गर्न लागेको जनाउँदै फिल्मको टिमले यस अभियानमा सबैको साथ र सद्भावको अपेक्षा गरेको छ।
अविनाश विक्रम शाहको निर्देशनमा बनेको 'तिनीहरूः एलिफेन्ट इन द फग' अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गरेको फिल्म हो।
यो कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा विश्व प्रिमियर भएको थियो। फिल्मले उक्त विधाअन्तर्गत जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहास रचेको थियो।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरूङ, दुरा सञ्जय गुप्ता, अलिज घिमिरे, आशान्त शर्मालगायत कलाकारहरूको अभिनय छ।