फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग' टिमले प्राकृतिक विपत्तिबाट प्रभावितका लागि सहयोग गर्ने भएको छ।
फिल्मको नेपाल प्रिमियरमार्फत आमन्त्रित दर्शकहरूबाट उठेको रकमसँगै निर्माताहरूको तर्फबाट थप २ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गर्ने घोषणा गरिएको हो।
फिल्मको नेपाल प्रिमियर भदौ १७ गते बुधबार आयोजना हुँदैछ। उक्त प्रदर्शनमा आमन्त्रित दर्शकबाट अनुमानित ७ लाख रूपैयाँ उठ्ने निर्माण टिमले अपेक्षा गरेको छ।
उक्त रकम कोषमा जम्मा गरिनेछ भने निर्माताहरूको तर्फबाट थप २ लाख रूपैयाँ पनि सहयोग गरिने फिल्मका निर्देशक अविनाश विक्रम शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विपत्तिका कारण देश शोकमा रहेका बेला आफूहरू पनि मर्माहत भएको जनाउँदै निर्देशक शाहले उद्धार, राहत र पुनःर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी, स्वयंसेवी युवा तथा आम नागरिकप्रति सम्मान व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'यो राष्ट्रको सामान्य नागरिक र चलचित्रकर्मीको हैसियतले यस कठिन समयमा हामीले राष्ट्रलाई दिन सक्ने अधिकतम योगदान के हुन सक्छ त? यो प्रश्नको उत्तर खोज्दै गर्दा हामीले फिल्मलाई पूर्व निर्धारित मिति भदौ १९ गतेमा नै प्रदर्शन गर्ने निर्णय गरेका छौं। र फिल्म प्रदर्शनबाट राज्यलाई थप मद्दत गर्न सकिन्छ भन्ने अपेक्षा राखेका छौं।'
निर्माण टिमले फिल्मका अन्तर्राष्ट्रिय सह-निर्माता, सेल्स एजेन्ट तथा वितरकको सहयोगमा विदेशबाट समेत आर्थिक सहयोग संकलन गर्ने जनाएको छ।
अविनाश विक्रम शाह निर्देशित 'तिनीहरूः एलिफेन्ट्स इन द फग' कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा विश्व प्रिमियर भएको थियो। फिल्मले उक्त विधामा जुरी अवार्ड जित्दै कान्समा पुरस्कार जित्ने पहिलो नेपाली फिचर फिल्मको इतिहास बनाएको थियो।
फिल्ममा पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, आकांक्षा कार्की, माओत्से गुरूङ, दुरा सञ्जय गुप्ता, अलिज घिमिरे, आशान्त शर्मालगायत कलाकारको अभिनय छ।