फिल्म तथा सिरियलकी लोकप्रिय कलाकार शादरा गिरीले बाढी प्रभावितहरूको सहयोगार्थ सरकारी राहत कोषमा ५ लाख रूपैयाँ सहयोग गरेकी छिन्।
दर्शकमाझ 'काली बुढी' उपनामले परिचित उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेकी हुन्।
गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएकी छन्। देश र जनता मर्माहत भएको यस दुःखद समयमा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा सहयोग गरेको उनले बताएकी छन्।
उनले लेखेकी छन्, 'यस दुःखद घडीमा जति सहयोग गरे पनि कम नै हुन्छ। मेरा छोराछोरीहरूले पनि राहत प्रदान गरिसकेका छन्। तर मेरो मनले नमानेकाले व्यक्तिगत तर्फबाट सरकारी राहत कोषमा ५ लाख रूपैयाँ जम्मा गरेकी छु।'
शादरा गिरी 'वडा नम्बर ६', 'छक्का पञ्जा' लगायत थुप्रै फिल्ममा देखिएकी छन्। त्यस्तै, 'हल्का रमाइलो' लगायत विभिन्न टेलिश्रृंखलामा उनी नियमित देखिँदै आएकी छन्।