नेपाली फिल्म 'एलिफेन्ट्स इन द फग (तिनीहरू)' को विशेष फन्ड रेजर स्क्रिनिङ सम्पन्न भएको छ।
कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा जुरी प्राइज जितेको यो फिल्मको बुधबार काठमाडौंमा विशेष प्रदर्शन गरिएको हो।
देश प्राकृतिक विपत्तिको परिस्थितिबाट गुज्रिरहेको समयमा राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्ने उद्देश्यले उक्त विशेष प्रदर्शनी गरिएको आयोजना थियो।
प्रदर्शनीमा आमन्त्रित दर्शकहरूले स्वेच्छाले गरेको सहयोग तथा फिल्मका निर्माताहरूको तर्फबाट उठेको सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको फिल्मको टिमले जनाएको छ।
फिल्मका सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीसहित सञ्चारकर्मी, पत्रकार, कलाकार, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका आमन्त्रित व्यक्तित्वहरूको समेत प्रदर्शनीमा सहभागिता रहेको थियो। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्रीहरू मनिषा कोइराला, करिश्मा मानन्धर, ऋचा शर्मा, उषा रजकलगायत कार्यक्रममा उपस्थित थिए।
फिल्म प्रदर्शनको अन्त्यमा दर्शकहरूले उत्साहपूर्ण ताली बजाउँदै उभिएर लामो समयसम्म सम्मान व्यक्त गरे।
प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विदुषी राणा फिल्म हेरेपछि भावुक बनेकी थिइन्। उनले फिल्मको प्रभावबारे बोल्दै यसको कथा र विषयवस्तु वर्तमान समयका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै सबैले यो फिल्म हेर्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरिन्।
कार्यक्रममा फिल्मका लेखक तथा निर्देशक अविनाश विक्रम शाहले फन्ड रेजर स्क्रिनिङ आयोजना गर्नुको उद्देश्यबारे भने, 'अहिले हाम्रो नेपाल दुःखमा छ। हामी नेपालीहरू दुःखमा छौं। यो शोले अलिकति भए पनि त्यो दुःख साट्न सक्यो र राहतमा केही योगदान गर्न सक्यो भने, म आफूलाई सफल भएको मान्नेछु।'
निर्माता अनुप पौडेलले पनि विपत्तिको यस कठिन समयमा फिल्मकर्मीका रूपमा आफूहरूले गर्न सक्ने योगदानबारे विचार गर्दै फन्ड रेजर स्क्रिनिङ आयोजना गरिएको बताए।
फन्ड रेजर स्क्रिनिङसँगै 'एलिफेन्ट्स इन द फग (तिनीहरू)' शुक्रबार भदौ १९ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउनेछ।
देशभरका सिनेमा हलहरूले यसअघि नै फिल्मको अग्रिम टिकट बुकिङ खुलाइसकेका छन्।
देश शोक र विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको भए पनि पूर्वनिर्धारित मितिमै फिल्म प्रदर्शन गर्ने निर्णय गरिएको टिमले जनाएको छ।
ओस्कारका लागि फिल्म पठाउने आवश्यक प्रक्रियालाई निरन्तरता दिनुपर्ने भएकाले प्रदर्शन मिति परिवर्तन नगर्ने निर्णय गरिएको हो।
फिल्म प्रदर्शनलाई निरन्तरता दिँदै त्यसबाट प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चलाई नेपालका कथा, भोगाइ, पीडा तथा जलवायु परिवर्तनका मुद्दाहरू विश्वसामु पुर्याउने माध्यमका रूपमा उपयोग गर्ने प्रतिबद्धता पनि टिमले व्यक्त गरेको छ।
‘एलिफेन्ट्स इन द फग (तिनीहरू)’ आगामी दिनमा टोरन्टो, बीएफआई लन्डन, ताइपेई, बुसान र रियो लगायतका अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्नेछ।
कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा छनोट हुने पहिलो नेपाली फिचर फिल्म बनेको यस फिल्मले सोही विधामा जुरी प्राइज प्राप्त गरेको थियो। यसका साथै फिल्मले न्युजिल्यान्डमा उत्कृष्ट फिल्म र अडियन्स अवार्ड पनि जितिसकेको छ।



