फिल्म 'तिनीहरूः एलिफेन्ट्स इन द फग'ले नेपाल प्रिमियरमा पाँच मिनेट लामो 'स्ट्याण्डिङ ओभेसन' पाएको छ।
विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा पुगेर चर्चा र अवार्ड जितेको यो नेपाली फिल्म भोलि (शुक्रबार)देखि नेपालभरका हलमा प्रदर्शनमा आउँदैछ। यसको बुकिङसमेत खुलिसकेको छ।
बुधबार काठमाडौंमा आयोजित विशेष प्रिमियरमा फिल्म हेरेपछि दर्शकले पाँच मिनेटसम्म उभिएर ताली बजाउँदै सम्मान गरेका हुन्। 'स्ट्याण्डिङ ओभेसन' उभिएर ताली बजाउँदै दिइने विशेष सम्मान हो।
भोटेकोसी बाढीपीडितका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित उक्त विशेष प्रदर्शनमा आमन्त्रित दर्शकले स्वेच्छाले गरेको सहयोग तथा निर्माताका तर्फबाट उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको निर्माण पक्षले जनाएको छ।
प्रिमियरमा अभिनेत्री मनिषा कोइराला, करिष्मा मानन्धर, ऋचा शर्मा, उषा रजक, अभिनेता नाजिर हुसेन, दिव्य देव, निर्देशक नवीन सुब्बा, प्रदीप भट्टराई, दीपेन्द्र लामा तथा प्रतिनिधि सभा सदस्य एवं व्यवसायी विदुषी राणालगायतको उपस्थिति थियो।
फिल्मले जंगली हात्तीको आतंकबाट प्रभावित तराईको एक बस्तीमा बसोबास गर्ने सीमान्तकृत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथा प्रस्तुत गर्छ।
प्रिमियरपछि दर्शकले फिल्मको कथा, अभिनय र प्राविधिक पक्षको प्रशंसा गरेका छन्।
फिल्मले फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिभलको 'अन सर्टेन रिगार्ड' विधामा जुरी पुरस्कार जितेको थियो। यसबाहेक न्युजिल्यान्डमा उत्कृष्ट फिल्म र दर्शक पुरस्कारसमेत जितिसकेको छ।
अविनाश विक्रम शाहको निर्देशन तथा पटकथा रहेको फिल्ममा पुष्पा थिङ लामा, गौरी मल्ल, माओत्से गुरूङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग र आकांक्षा कार्कीलगायतको अभिनय छ।
नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म बनेको हो। निर्मातामा नेपालबाट अनुप पौडेल रहेका छन्।
