ब्लकबस्टर फिल्म 'गौंथली'ले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १४ लाख रूपैयाँ सहयोग गरेको छ।
फिल्मको टिमले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री राहत कोषमा १४ लाख रूपैयाँ सहयोग गरेको हो।
निर्माता सुमन गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन्।
देश विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै 'गौथली' परिवारले पीडित नागरिकसँगै उभिनु आफ्नो मानवीय दायित्व भएको जनाएको छ। सहयोग रकमले विपत्तिमा परेका नागरिकलाई केही राहत पुग्ने विश्वाससमेत व्यक्त गरिएको छ।
डा. कपिल रिजाल निर्देशित 'गौंथली' मा अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। साउन १ गते रिलिज फिल्मले शनिबार प्रदर्शनको ५१ औं दिन मनाउँदैछ।