राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने फिल्म 'कंगाल करोडपति'को शुभ-मुहूर्त गरिएको छ।
शुक्रबार कमलादीस्थित गणेशस्थानमा फिल्मको मुहूर्त गरिएको फिल्म प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुन लागेको हो।
फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी, भीमसेन खतिवडालगायतका कलाकारहरूको अभिनय रहनेछ।
सामाजिक तथा पारिवारिक विषयवस्तुमा निर्माण हुने फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ। फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने अश्विन बराल, दिपेश तिरूवा र प्रविण राई सह-निर्माता रहेका छन्।
फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरको छ। सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा निर्माण हुने फिल्ममा हरि घले लामाको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहनेछ।
फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहनेछ भने प्रदीप लामाले नृत्य निर्देशन गर्नेछन्। जीवन गौतम मुख्य सह-निर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा जोडिएका छन्।
मुहूर्तअघि निर्माण टोलीले हालैको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाउनेप्रति मौनधारण गर्दै श्रद्धाञ्जली व्यक्त गरेको थियो।
साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीपहिरो पीडितको सहयोगार्थ ५१ हजार रूपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेको छ।