असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'झिंगे दाउ २'को तीज गीत सार्वजनिक भएको छ।
शुक्रबार 'धागो छिन्यो चर्खाको' बोलको गीत ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको हो।
तीजको परिवेशमा तयार पारिएको करिब ७ मिनेट लामो गीतको भिडिओमा फिल्मका मुख्य कलाकार केकी अधिकारी र आँचल शर्माबीचको जेठानी-देउरानीको झगडालाई प्रस्तुत गरिएको छ। फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन्।
गीतमा एलिना चौहानले केकी अधिकारीका लागि र रचना रिमालले आँचल शर्माका लागि स्वर दिएका छन्।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा जेठानी र देउरानीबीचको भनाभन तथा दोहोरीलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। रामजी लामिछानेले भिडिओमा कोरियोग्राफी गरेका हुन्।
केकी र आँचलले गीतले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।
यस गीतलाई केही दिनअघि नै सार्वजनिक गर्ने तयारी थियो। तर नेपालमा आएको विनाशकारी बाढी र त्यसपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै निर्माण टिमले गीतको रिलिज स्थगित गरेको थियो। परिस्थितिलाई सम्मान गर्दै स्थगित गरिएको गीत अहिले सार्वजनिक गरिएको हो।
'झिंगे दाउ २' कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको हो। फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता हुन्। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह-निर्माता छन्।
विष्णु घिमिरे 'कल्पित'को डीओपी रहेको फिल्ममा मित्र डी गुरूङको सम्पादन छ।
फिल्ममा केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल विष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसीलगायत कलाकारहरूको अभिनय छ।
परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ।
फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने निर्माण टिमले जनाएको छ।
'झिंगे दाउ'को पहिलो श्रृंखला बक्सअफिसमा हिट भएको थियो। अहिले यसको दोस्रो श्रृंखला प्रदर्शनमा आउनुअघि 'झिंगे दाउ' युट्युबमा सार्वजनिक छ।
यस्तो छ गीतः–