सिम्रन खड्का र अरूण क्षेत्री अभिनीत फिल्म 'गौंथली'ले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार उक्त सफलता हासिल गरेको हो।
यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको 'गौंथली'ले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको हो।
निर्माता सुमन गिरीका अनुसार 'गौंथली' शनिबार ४३ हलमा ५९ शोसहित प्रदर्शन भएको थियो। उनका अनुसार फिल्मले हालसम्म २५ करोड ८० लाख रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ।
धेरैजसो नेपाली फिल्मलाई एक सातासम्म पनि हलमा टिक्न कठिन भइरहेको अवस्थामा ‘गौंथली’ले भने प्रदर्शनको ५१ औं दिनसम्मको यात्रा तय गरेको हो। फिल्मले हालसम्मको कमाइका आधारमा नेपाली फिल्म उद्योगमा ‘पूर्णबहादुरको सारंगी’पछि सर्वाधिक कमाउने दोस्रो फिल्मको स्थान बनाएको छ।
निर्देशक डा. कपिल रिजालले दर्शकको माया र टिमको मेहनतका कारण फिल्मले ५१ औं दिन पूरा गर्न सफल भएको बताए।
'हाम्रो मेहनत र दर्शकको मायाले हामी ५१ औं दिन मनाउन सफल भएका छौं,' उनले भने, 'यो मायाले हामीलाई थप जिम्मेवार बनाएको छ।'
निर्देशक रिजालले दर्शकको यो मायाबाट आफूहरू थप उत्साहित र जिम्मेवार बनेको बताउँदै आगामी दिनमा पनि राम्रो सिर्जनासहित दर्शकमाझ आउने प्रतिबद्धता जनाए। उनले फिल्मलाई माया गर्ने सम्पूर्ण दर्शकप्रति आभार व्यक्त गरे।
'गौंथली'मा सिम्रन र अरूणसहित मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधरलगायत कलाकारहरूको अभिनय छ।