फिल्म 'फर्की फर्की'को सिक्वेल बन्ने भएको छ।
निर्माता रोहित अधिकारीले 'फर्की फर्की युनिभर्स'लाई अघि बढाउँदै फिल्म निर्माण गर्ने भएका हुन्। त्यसका लागि अभिनेता अनमोल केसीसँग कागजी सम्झौता गरिसकेका छन्।
'फर्की फर्की'मा अनमोलले निर्वाह गरेको म्याडीको चरित्रलाई नै नयाँ फिल्ममा निरन्तरता दिइनेछ। यद्यपि, फिल्मको नाम भने 'फर्की फर्की २' राखिने छैन। 'फर्की फर्कीः बियोन्ड टाइम' नाममा फिल्म निर्माण हुने निर्माता रोहितले बताए।
उनले भने, 'सिक्वेल हो। '२' नभनेको मात्रै हो। म्याडीकै क्यारेक्टर हुन्छ।'
फिल्मको निर्देशन भने अघिल्लो श्रृंखलाकै निर्देशक सुयोग गुरूङले गर्नेछन्। फिल्मको छायांकन भने आगामी वर्षको दसैंपछि मात्रै सुरू गर्ने तयारी रहेको रोहितले बताए।
रोहित अधिकारी फिल्मस्बाट बन्ने सिक्वेलमा निर्मातामा शोभा ढकाल, कार्यकारी निर्माता सुरज बम ठकुरी रहनेछन्।
नयाँ फिल्ममा म्याडीको जोडीका रूपमा जसिता गुरूङ नै दोहोरिन्छिन् कि नयाँ अभिनेत्री आउनेछिन् भन्ने टुंगो लागिसकेको छैन। तर, जसिता नै दोहोरिने सम्भावना रहेको रोहित बताउँछन्।
रोहितले अनमोलसँग नयाँ फिल्ममा सहकार्य गर्नुअघि अभिनेता पल शाहलाई लिएर पनि नयाँ फिल्म निर्माणको तयारी गरिरहेका छन्। फिल्मको नाम भने अहिलेसम्म तय भइसकेको छैन।
'पलजीसँग मौखिक एग्रिमेन्ट भइसकेको छ। उहाँले 'यानीमाया'को छायांकन सकेर फर्किएपछि लिखित एग्रिमेन्ट गछौं,' रोहितले भने।
रोहितले दीपकराज गिरी र दीपाश्री निरौलासँगको सहकार्यमा निर्माण गरेको फिल्म 'छ माया छपक्कै २' यही दसैंमा प्रदर्शनमा आउँदैछ।
