'मिस वर्ल्ड २०२६'को उपाधि डोमिनिकन रिपब्लिककी जोहेरी मोला डोमिन्गेजले जितेकी छन्।
शनिबार भियतनामको न्हा ट्राङमा आयोजित ७३ औं मिस वर्ल्डको ग्रान्ड फिनालेमा उनले विश्व सुन्दरीको ताज पहिरिएकी हुन्।
मोलाले विश्वभरका १ सय १० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।
उनको जितसँगै डोमिनिकन रिपब्लिकले ४४ वर्षपछि दोस्रोपटक मिस वर्ल्डको ताज जितेको छ। यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले डोमिनिकन रिपब्लिकका लागि पहिलोपटक यो उपाधि जितेकी थिइन्।
स्पेनकी एलिजाबेथ रेयनेस अलाबेर्न फर्स्ट रनरअप बनिन् भने मलेसियाकी तानुसिया चेट्टी सेकेन्ड रनरअप घोषित भइन्।
मिस वर्ल्डको यस संस्करणमा सामाजिक कार्यलाई समेत विशेष प्राथमिकता दिइएको थियो। मोला डोमिन्गेजले आफ्नो 'ब्युटी विथ अ पर्पज' अभियानअन्तर्गत अवसरबाट वञ्चित बालबालिकालाई अंग्रेजी भाषा सिकाउने काममा जोड दिएकी थिइन्।
यसपटकको मिस वल्र्ड प्रतियोगितामा १११ देशका सुन्दरी सहभागी भएको रिपोर्टहरूमा उल्लेख छ। प्रतियोगिताको फिनाले सेप्टेम्बर ५ मा भियतनाममा सम्पन्न भएको हो।
गत वर्षको मिस वर्ल्ड थाइल्यान्डकी ओपल सुचाता थिइन्। उनले यस वर्षकी विजेता मोला डोमिन्गेजलाई ताज पहिर्याएकी थिइन्।