पारस बम ठकुरी 'कुल ब्वाय' र दिव्या रायमाझी अभिनीत फिल्म 'बेहुली'को ट्रेलर सार्वजनिक भएको छ।
निर्माणपक्षले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो।
सार्वजनिक झन्डै ४ मिनेटको ट्रेलरले मुख्य पात्र र उनीहरूको सम्बन्धसँगै कथावस्तुको संक्षिप्त झलक प्रस्तुत गर्छ।
पारस र दिव्याबीचको प्रेम, पारिवारिक सम्बन्ध, द्वन्द्व, पीडा, बिछोडलगायतलाई ट्रेलरमा देखाइएको छ।
सशान कँडेलको निर्देशन रहेको फिल्ममा पारस र दिव्यासँगै पदम तामाङ, सुशान्त कार्की, सन्तोष बानियाँ, सबिन कट्टेल, सरिता गिरी, विशाल पहाडी, कर्मा लामा, घनश्याम जोशी, दीपक गौलीलगायत कलाकारहरूको अभिनय छ।
माधव शर्माको लेखन रहेको फिल्म द डिभाइन म्युजिक र सम्मान इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति हो। अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा प्रताप शमशेर राणा छन्। यसमा डिओपी नरेन्द्र मैनाली, सिनेम्याटोग्राफी रवी रोक्का, द्धन्द्ध रोशन श्रेष्ठ तथा सम्पादन बनिश शाह र विकास दाहालको छ।
'बेहुली' पारस बम ठकुरी 'कुल ब्वाय'को दोस्रो फिल्म हो। उनले फिल्म 'होस्टेल ३'बाट अभिनयमा डेब्यु गरेका थिए। यस्तै दिव्या रायमाझीका लागि भने 'बेहुली' चौथो फिल्म हो।
फिल्म भदौ २६ गते शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।